हेटौंडाः हेटौंडा–१, भिन्तुनापथस्थित मकवानपुर सहकारी अस्पतालले बारा जिल्लाको निजगढ नगरपालिकाको ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविरको आयोजना गरेको छ । शनिबार आयोजना गरिएको स्वास्थ्य शिविरमा दुई सय ३८ जनाको स्वास्थ्य परीक्षण गर्नुका साथै आवश्यक औषधी निशूल्क वितरण गरिएको थियो ।
स्थानीय तपोवन सामुदायिक अध्ययन केन्द्र र निजगढ नगरपालिकासँगको सहकार्यमा सहकारी अस्पतालले स्थानीय बकैया ठाकुर आधारभूत विद्यालय परिसरमा निशूल्क स्वास्थ्य शिविरको आयोजना गरेको हो । स्वास्थ्य शिविरमा बाल स्वास्थ्य, स्त्री तथा प्रसुती स्वास्थ्य, हाडजोनी तथा नशा, जनरल सर्जन तथा जनरल मेडिसिनसम्बन्धी स्वास्थ्य परीक्षण गरिएको थियो । सहकारी अस्पतालका डाक्टरहरु सुन्दर श्रेष्ठ, राघवेन्द्र ठाकुर, रामविद्या प्रसाद, कमल दवाडी, हरि खड्काले स्वास्थ्य परीक्षण तथा उपचार सेवा प्रदान गर्नुभएको थियो ।
स्थानीय आयोजक तपोवन सामुदायिक अध्ययन केन्द्रकी अध्यक्ष मीनाकुमारी लामा, मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जनको उपस्थितिमा आयोजित स्वास्थ्य शिविरको निजगढ नगरपालिकाका मेयर सुरेशकुमार खनालले निरीक्षण गर्नुभएको थियो । मकवानपुर सहकारी अस्पतालले वार्षिक रुपमा जिल्ला भित्र र जिल्ला बाहिर पनि ग्रामीण क्षेत्र लक्षित गरी स्वास्थ्य शिविरको आयोजना गर्दै आएको छ ।