
हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको तेस्रो सभा बिहीबार बसेको छ ।
बिहीबार बसेको सभाले ३ वटा नियमावली पारित गरेको छ भने ऐनमा संशोधनको प्रस्ताव पारित गर्नुका साथै आदिवासी, जनजाति, सिमान्तकृत, अल्पसंख्यक, दलित मध्येबाट एकजना महिलासहित दुईजना सभाको सदस्यमा मनोनित गर्नुपर्ने व्यवस्थाअनुसार मकवानपुरको मकवानपुरगढी गाउँपालिकाकी रमिला घलानलाई सभाको सदस्यमा मनोनित गर्ने निर्णय गरेको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले जानकारी दिनुभएको छ ।

प्रतिष्ठानको तेस्रो सभाले कर्मचारी र शिक्षकको सेवा, सर्त र सुविधासम्बन्धी नियमावली, अस्पताल सञ्चालन तथा व्यवस्थापनसम्बन्धी नियमावली पारित गरेको रजिष्ट्रार प्रसाईले बताउनुभएको छ । प्रतिष्ठानका कुलपति समेत रहनुभएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको सभाले जनशक्ति तथा व्यवस्थापन सम्बन्धी मापदण्ड पनि पारित गर्ने निर्णय गरेको प्रसाइँको भनाइ छ ।
चालु आर्थिक वर्षबाटै तीन वटा शैक्षिक कार्यक्रम सञ्चालनको तयारीमा रहेको प्रतिष्ठानले प्रतिष्ठानमा नियुक्त भई कार्य गर्ने प्राध्यापकहरुको तलब स्केल पनि निर्धारण गर्ने निर्णय गरेको छ ।