हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आगामी शनिबार माझी एकीकृत बस्तीको उद्घाटन गर्नुहुने भएको छ । रामेछाप जिल्लाको खाँडादेवी गाउँपालिकाको वडा नम्बर ३ को माझी गाउँमा निर्माण सम्पन्न भएको एकीकृत बस्तीको उद्घाटन गर्ने तयारी भएको गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर तामाङले जानकारी दिनुभयो ।
बस्तीमा जस्ताले छाएका २ कोठे ४२ वटा घरहरु शौचालयसहित निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष तामाङले जानकारी दिनुभयो । कृषि र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने उद्देश्यका साथ निर्माण गरिएको एकीकृत बस्तीका लागि गाउँपालिकाले ७५ लाख रुपैयाँ र बागमती प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ खर्चेको अध्यक्ष तामाङको बताउनुभयो ।
एकीकृत नमुना बस्ती निर्माणका लागि बागमती प्रदेशको कृषि निर्देशनालयमार्फत सो रकम विनियोजन गरिएको थियो । गत आर्थिक वर्षको फागुन महिनादेखि निर्माण सुरु भएको एकीकृत बस्तीको निर्माण सम्पन्न भएर उद्घाटन हुन गइरहेको खाँडादेवी गाउँपालिकाले जनाएको छ । यही माघ २४ गते बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बस्तीको उद्घाटन गर्ने तय भएको छ ।
गाउँपालिकाको वडा नम्बर ३ को एकीकृत बस्तीले पर्यटनलाई टेवा दिने गाउँपालिकाका अध्यक्ष तामाङले बताउनुभएको छ । उहाँले बस्ती वरपर होमस्टेको पनि राम्रो सम्भावना भएको बताउनुभएको छ । खाँडादेवी गाउँपालिकामा रहेका सिमान्तकृत माझीहरुका लागि एकीकृत बस्ती निर्माण भएको बताउनुभयो । उहाँले एकीकृत बस्तीमा खेलमैदान तथा सार्वजनिक धारा, बाटोघाटोको पनि राम्रो प्रबन्ध भएको जानकारी गराउनुभयो ।
प्रदेश सरकारकासँग समन्वय गरेर गाउँपालिकामा भ्यूटावर पनि निर्माण भइरहेको जानकारी गराउँदै प्रदेश सरकारसँग समन्वय गर्दै विकासका कामहरु अगाडि बढेको अध्यक्ष तामाङले बताउनुभएको छ ।