अफिम खेती फँडानी गर्दै प्रहरी ।

हेटौंडाः मकवानपुर प्रहरीले १८ विगाहा १० कट्ठामा लगाइएको लागूऔषध अफिम खेती नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक अविनाश अधिकारीको कमाण्डमा दंगा नियन्त्रण प्रहरी गणसमेतबाट संयुक्त रुपमा खटिएको ४५ जनाको प्रहरी टोलीले बुधबार राक्सिराङ गाउँपालिकामा अफिम खेती फँडानी गरी नष्ट गरेको हो ।

प्रहरीले राक्सिराङ–४ को देवीटार, मनछाप, जिमाजुङ लगायतका स्थानहरुमा गरी कुल १८ विगाहा क्षेत्रफलमा लगाएको लागूऔषध अफिम खेती फँडानी गरी नष्ट गरेको हो । यस्तै गाँजा खेती काटेर खेतमा लुकाएर राखेको अवस्थाको ५ सय किलो गाँजा पनि प्रहरीले नष्ट गरेको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका गाँजाखेती हुने प्रमुख क्षेत्र हो । भौगोलिक विटकताका बाबजुद पनि राक्सिराङ गाउँपालिकाको हावापानी र भूवनोटले गर्दा गाँजा खेती अत्याधिक हुने गरेको छ ।

माटो राम्रो रहेको तथा प्रहरीको निगरानी भन्दा धेरै टाढा रहेकोले राक्सिराङमा गाँजा तथा अफिम खेत गर्न स्थानीयसँगै विदेशीहरु पनि सक्रिय छन् । आर्थिक अवस्थाका कमजोर भएका कारण राक्सिराङ गाउँपालिकाहरु अधिकांश युवाहरु लागूऔषध गाँजा ओसारपसारमा प्रयोग हुँदै आएका छन् । आम्दानीको अन्य स्रोत नहुँदा राक्सिराङका स्थानीयहरुले गाँजा खेती गर्नुपरेको स्थानीय जनप्रतिनिधिहरुले जनाएका छन् ।