तस्बिर goole ।

हेटौंडाः नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघको छैठौं वार्षिक साधारणसभा हेटौंडामा हुने भएको छ । आगामी फागुन ८ गते हेटौंडामा साधारणसभा हुने मकवानपुर फर्निचर व्यवसायी संघले जनाएको छ । मकवानपुर फर्निचर व्यवसायी संघले शनिबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गरेर महासंघको साधारणसभाको बारेमा जानकारी गराएको हो ।

संघका अध्यक्ष गोकुल श्रेष्ठका अनुसार महासंघको शाखा विस्तार भएका देशका ४० जिल्लाबाट तीन सय भन्दा बढी प्रतिनिधि सहभागी हुनेछन् । महासंघको संस्थापक जिल्ला समेत भएकोले मकवानपुर जिल्ला समितिले साधारणसभाको आयोजना गर्न लागेको श्रेष्ठको भनाइ छ । नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघका अध्यक्ष रामप्रसाद न्यौपानेले साधारणसभाबाट देशका ७७ वटै जिल्लामा शाखा विस्तार गर्ने, देशका सबै प्रदेशमा प्रदेश समिति गठन गर्ने विषयमा महत्वपूर्ण निर्णय हुने बताउनुभयो । महासंघको गण्डकी प्रदेशमा मात्रै प्रदेशस्तरीय समिति गठन भएको छ । महासंघको साधारणसभा आयोजनाका लागि विभिन्न समितिहरु समेत गठन गरिएको छ ।