हेटौंडाः यस वर्षको बिजुलीमाया वनः श्रेष्ठ राष्ट्रिय सङ्गीत पुरस्कार २०७७ बाट दार्जिलिङकी दावा ग्याल्मोलाई सम्मान गरिएको छ । बहुमुखी प्रतिभाका धनी भीम विरागको सम्मानमा स्थापित भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठान नेपालले एक लाख राशीको पुरस्कार भारत दार्जिलिङका दावा ग्याल्मोलाई शनिबार प्रदान गरेको हो ।
दार्जिलिङमा रहेर नेपाली संगीत क्षेत्रमा योगदान पुर्याएको भन्दै प्रतिष्ठानले दावा ग्याल्मोलाई सम्मान गरेको जनाएको छ । शनिबार हेटौंडाको रिगल हेटौंडा रिसोर्टमा एक समारोहका बीच ग्याल्मोलाई पुरस्कार प्रदान गरिएको छ । यस्तै प्रतिष्ठानले यस वर्षदेखि भीम विराग संगीत युवा पुरस्कारबाट पोखराको महिला सांगीतिक समूह ‘हार्मोनी’ लाई सम्मान गरेको छ । प्रतिष्ठानले पहिलो पटक प्रदान गर्न लागेको संगीत युवा पुरस्कारको राशी २१ हजार रुपैयाँ साहित्यकार प्रकाश सायमीले प्रदान गर्नु भएको छ । ‘हाम्रोनी’ संगीत क्षेत्रमा महिला समूहलाई अग्रसर गराउने पोखराको संस्था हो ।
भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले हरेक वर्ष विजुली माया वनः श्रेष्ठ राष्ट्रिय संगीत पुरस्कार प्रदान गर्दै आएको छ । व्यवसायी कन्हैया कृष्ण श्रेष्ठले आफ्नी आमाको सम्मानमा पुरस्कार स्थापना गर्नुभएको हो । सम्मानित हुनुहुने दावा ग्याल्मो र हाम्रोनीका बारेमा मतिना त्वनावासुले जानकारी गराउनुभएको थियो । प्रतिष्ठानका अध्यक्ष ह्यग्रीव आचार्यको अध्यक्षता तथा वरिष्ठ साहित्यकार इश्वर बल्लभको प्रमुख आतिथ्यमा भएको पुरस्कार वितरण समारोहमा कला साधक प्रकाश सायमी, साहित्यकार तारालाल श्रेष्ठ, साहित्यकार शरद प्रधान, साहित्यकार तुल्सी थापाको उपस्थिति रहेको थियो ।
साहित्यकार इश्वर बल्लभले भीम विराग भावना, गीत, सत्कार्य, साहित्य र कलाले भरिपूर्ण व्यक्तित्व भएको बताउनुभयो । कलाले मात्र नभई माटो र देशका लागि समर्पित हुन आवश्यक रहेको उहाँले बताउनुभएको छ । पुरस्कार वितरण समारोहमा मकवानपुरका कलाकार एवम् अतिथि संगीतकर्मी, साहित्यकारले पनि आफ्ना कला प्रस्तुत गरेका थिए । प्रतिष्ठानले समर्पण शीर्षकको पुस्तक समेत लोकार्पण गरेको छ ।