हेटौंडाः दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको स्थापना दिवस तथा दिव्यताराद्वारा सञ्चालित रेडियो मकवानपुरको वार्षिकोत्सवको अवसरमा सप्ताहव्यापी कार्यक्रम सुरु भएको छ । पहिलो दिन शुक्रबार शहीद दिवसको सन्दर्भमा माविस्तरीय कविता प्रतियोगिता भएको छ । शहीद शीर्षकमा भएको प्रतियोगितामा जीएस निकेतनका समर्पण न्यौपाने प्रथम, त्रिभुवन नमूना माविका सुजन ढुंगाना द्वितीय, भानु माविका जेनिशा चौलागाई तृतीय, शारदा माविका कविना सञ्जेल र बालज्योति मावि पिप्लेका रिजाय कार्की सान्त्वना भएका छन् ।

प्रतियोगितामा जिल्लाको विभिन्न विद्यालयका २३ जना विद्यार्थीहरु सहभागी थिए । कविता प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना भएका विद्यार्थीहरुले क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र एकहजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । कविता प्रतियोगितामा साहित्यकार दीपक गौतम र भावना सापकोटाले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो । रेडियो मकवानपुरका स्टेसन म्यानेजर गणेशदर्पण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार महासंघ मकवानपुर अध्यक्ष हरि हुमागाईको प्रमुख आतिथ्य रहेको थियो ।