शान्तिचोक टोल विकास संस्थाको टिमलाई उपाधि प्रदान गरिँदै ।

हेटौंडाः मकवानपुर बेरोजगार युवा संगठनद्वारा आयोजित टोलस्तरीय ८ ए साइड फुटबल प्रतियोगिताको उपाधि शान्तिचोक टोल विकास संस्थाले जितेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा रहेका टोलहरुबीच आयोजना गरिएको प्रतियोगितामा कुष्माण्ड टोल विकास संस्थालाई १–० गोलअन्तरले हराउँदै शान्तिचोकले उपाधि जितेको हो ।

उपाधि विजेता शान्तिचोकले नगद ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उपविजेता कुष्माण्ड टोल विकास संस्थाले १५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै त्रिवेणी टोल विकास संस्थालाई १–० गोलअन्तरले पराजित गर्दै मिलन टोल विकास संस्था तेस्रो भएको छ । मिलन टोल विकास संस्थाले नगद पाँच हजार रुपैयाँ पाएको छ । वडाका १८ वटा टोल विकास संस्थाको टिम सहभागी भएको प्रतियोगिता आयोजनाका लागि दुई लाख रुपैयाँ खर्च भएको आयोजक बेरोजगार युवा संगठनका अध्यक्ष सुरेश बेरोजगारले जानकारी दिनुभएको छ । प्रतियोगिता आयोजनाका लागि ९ नम्बर वडा कार्यालयले एक लाख ५० हजार रुपैयाँ उपलब्ध गराएको थियो ।

हेटौंडा–८ स्थित औद्योगिक क्षेत्रको खेलमैदानमा बिहीबार भएको प्रतियोगिताका उपाधि विजेताहरुलाई जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुरस्कार वितरण गर्नुभयो । समापन समारोहमा वडा अध्यक्ष लक्ष्मणप्रसाद भण्डारी, जिल्ला खेलकुद विकास समिति मकवानपुरका अध्यक्ष सानु लामा, हेटौंडा उपमहानगर खेलकुद विकास समितिका अध्यक्ष चन्द्र शाही, मकवानपुर उद्योग वाणिज्य संघका सदस्य नरेन्द्र भण्डारीको पनि उपस्थिति रहेको थियो ।