हेटौंडाः हेटौंडामा जारी एक महिने मकर मेलामा माघ १७ गते शनिबार विशेष साँस्कृतिक कार्यक्रम हुने भएको छ । कृष्ण कँडेलको इन्द्रेणी साँस्कृतिक समूहले विशेष कार्यक्रम गर्न लागेको हो । त्रिवेणीधाम विकास समितिको विशेष अनुरोधमा इन्द्रेणी समूहले कार्यक्रम गर्न लागेको हो ।

त्रिवेणी धामको राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने उद्देश्यले सो साँस्कृतिक कार्यक्रम गर्न लागेको समितिले जनाएको छ । कार्यक्रममा सहभागिताका लागि सबै शुभेच्छुकहरुलाई अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले आग्रह गर्नुभएको छ । माघे संक्रान्तिबाट शुरु भएको मकर मेलामा जिल्लाभित्र र नजिकैका जिल्लाबाट श्रद्धालु भक्तजन पूजा गर्न आइरहेको त्रिवेणीधाम विकास समितिका अध्यक्ष न्यौपानेले बताउनुभयो । विसं २०६६ बाट शुरु भएको यो मेला पछिल्ला वर्षमा निकै लोकप्रिय बन्दै गइरहेको छ । कुशको जराबाट उत्पति भएर उत्तरतिर बगिरहेको कैशावाही नदी, नवदुर्गाको चौथोस्वरुप कुष्माण्ड भगवतीले तपस्या गरेर सिद्ध प्राप्त पुण्यभूमि प्रमुख विशेषता हो ।