हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको अधिवेशन आगामी फागुन २९ गते हुने भएको छ । राप्रपा मकवानपुरको मंगलबार बसेको विस्तारित बैठकले जिल्ला अधिवेशनको मिति तय गरेको हो । बैठकले निर्वाचन प्रयोजनको निमित्त जिल्ला नेता गोपिप्रसाद न्यौपानेको संयोजकत्वमा जिल्ला निर्वाचन समिति समेत गठन गरेको छ ।

जिल्ला अध्यक्ष रामहरि न्यौपानेको अध्यक्षतामा बसेको बैठकमा पार्टीका केन्द्रिय कार्य सम्पादन समितिका सदस्य राजाराम बर्तौलाले पार्टी र विचारलाई स्थापित गर्नका निमित्त संगठन केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो । कांग्रेस र कम्युनिष्टको विचार र उनीहरुले अबलम्बन गरेको मार्गबाट मुलुक समस्याको दलदलमा भासिएको, बिदेशी चलखेल, बेरोजगारी, भ्रष्टाचार, सर्वसत्तावाद र धर्मनिरपेक्षता बढेको भन्दै बर्तौलाले राप्रपालाई मुलुकको वैकल्पिक शक्ति बनाउनु पर्ने बताउनुभएको छ । सक्रिय सदस्यता अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गर्नुपर्नेमा जोड दिँदै बर्तौलाले राप्रपालाई मुलुकको बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति निर्माण गर्दै मुलुकलाई बनाउने र बचाउने अभियान पार्टीले सुरु गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

बैठकमा केन्द्रिय सदस्यहरु नवराज बिष्ट, बालकृष्ण कार्की, राम थोकरले अधिवेशनलाई अर्जुनदृष्टिका साथ अगाडि बढाउनु पर्ने बताउनुभयो । बैठकमा जिल्ला कमिटीका पदाधिकारी, सदस्य, क्षेत्र, नगर, गाउँपालिका, जनवर्गीय संगठन र नगर भित्रका वडाका अध्यक्षहरुको सहभागिता रहेको नगर अध्यक्ष गुरुप्रसाद सापकोटाले जानकारी दिनुभएको छ । यस पटक पार्टीको महाधिवेशन प्रतिनिधि सक्रिय सदस्यका आधारमा तय हुने हुँदा तल्लो तहदेखि नै सक्रिय सदस्यता वितरण अभियानलाई प्रभावकारी रुपमा सञ्चालन गरिने युवा संगठन हेटौंडा अध्यक्ष भृगु कार्कीले बताउनुभएको छ ।