हेटौंडाः जवर्जस्ती करणी (जजक) मुद्दामा फरार रहेको प्रतिवादीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । सर्वोच्च अदालतको २०७३ साल जेठ २६ गते को फैसलाले जजक मुद्दामा दोषी ठहर भई ३ वर्ष ११ महिना कैद भुक्तान गर्न बाँकी रहेका मकवानपुर जिल्लाको मनहरी गाउँपालिका–२ का ३४ वर्षीय जीवन स्याङ्बोलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले आइतबार हेटौंडा–१० बाट स्याङ्बोलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।
पक्राउ परेका स्याङ्बो प्रहरी हिरासतमा रहेको र आवश्यक प्रक्रिया पूरा गरी जिल्ला अदालत मकवानपुरमा हाजिर गराई कैद भुक्तानका लागि कारागार पठाइने प्रवक्ता रानाको भनाइ छ । अहिले कोरोना परीक्षण गरी कोरोना संक्रमण नरहेको प्रमाणसहित अदालतमा हाजिरी गराएर मात्रै कारागार चलान गर्नुपर्ने व्यवस्था रहेको प्रवक्ता रानाले बताउनुभएको छ ।