सांकेतिक तस्विर ।

हेटौंडाः मकवानपुरमा प्रहरी प्रमुख फेरिएसँगै फरार रहेका प्रतिवादीहरु पक्राउ पर्न सुरु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुखमा सोमेन्द्र सिंह राठौर आएसँगै फरार प्रतिवादीहरु भट्टाभट पक्राउ पर्न सुरु भएको हो । मकवानपुर प्रहरीले शुक्रबार ३ जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ । यसअघि पनि विभिन्न मितिमा फारार पतिवादी ३ जना पक्राउ परिसकेका छन् ।

जिल्ला अदालत मकवानपुरको २०७२ माघ २८ गतेको फैसलाले लागु औषध हिरोइन मुद्दामा ६ वर्ष कैद र दशहजार रुपैयाँ जरिवाना तोकी फरार रहेका प्रतिवादीलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । हेटौंडा–१५ बस्ने ३३ वर्षीय राजकुमार वाईबालाई शुक्रबार हेटौंडा–१५, फायरलाईनबाट पक्राउ गरेर जिल्ला अदालतमा उपस्थिति गराएको प्रहरीले जनाएको छ । यस्तै जिल्ला अदालत मकवानपुरको २०७५ मंसिर १६ गतेको फैसलाले बहुबिवाह मुद्दामा १ वर्ष कैद र पाँच हजार जरीवाना तोकी फरार रहेका प्रतिवादी हेटौंडा १५ बस्ने ३३ वर्षको हरि गोङ्वालाई पनि प्रहरीले शुक्रबार नै पक्राउ गरेको छ ।

यस्तै जिल्ला अदालत मकवानपुरको २०७५ असार १२ गतेको फैसलाले लागुऔषध गाँजा मुद्दामा १ महिना ६ दिन कैद र दुई हजार जरीवाना तोकी फरार रहेका प्रतिवादी हेटौंडा–१४ बस्ने २६ वर्षका विजय रुम्बालाई शुक्रबार पक्राउ गरेर जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरीका कार्यालय मकवानपुरले जानकारी दिएको छ ।