ईन्द्रसरोवर गाउँपालिका–४, प्रेमनगरमा आगजनी गरिएको पिकअप गाडी ।

हेटौंडाः मकवानपुरको उत्तरीक्षेत्र ईन्द्रसरोवर गाउँपालिका–४, प्रेमनगरमा शुक्रबार राती पिकअप गाडीमा आगजनी गरिएको छ ।

नचिनेका व्यक्तिहरुको एक समूहले राती २ बजेको समयमा भीमफेदीबाट काठमाडौंतर्फ जाँदै गरेको बा १३ च ७९६९ नम्बरको पिकअप गाडीमा आगजनी गरिएको हो । गाडी रोकेर चालकलाई निकालेर आगजनी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

यस्तै आज मकवानपुरका विभिन्न स्थानमा शंकास्पद बस्तु भेटिएको छ । मकवानपुरको हेटौंडा–५, सिचाईटोलमा भेटिएको शंकास्पद बस्तु सेनाको टोलीले शनिबार बिहान ८ बजेर ४५ मिनेटमा निष्क्रिय पारिएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–५, खोप्लासी र बागमती गाउँपालिका–४, झुरझुरे हरामीचोकमा पनि शंकास्पद बस्तु भेटिएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभएको छ ।