हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलका विद्यार्थीले लेखेका कथाको प्रस्तुतीकरण गरिएको छ । कक्षा ७, ८, ९ र १० मा अध्ययनरत एक सय २५ जना विद्यार्थीले तयार पारेका रचनाको प्रस्तुतीकरण गरिएको हो । विद्यार्थीले समूह कार्य गरेर ३० वटा कथाको प्रस्तुतीकरण गरेका हुन् । विभिन्न विषयमा विद्यार्थीले कथा लेखेका थिए ।
विद्यार्थीमा रचनात्मक क्षमता विकास गर्न कथा लेखन तथा प्रस्तुतीकरणको अभ्यास गराइएको प्रिन्सीपल विनोद सुवेदीले जानकारी दिनुभयो । विद्यार्थीको रचनात्मकता अभिवृद्धि गर्न विद्यालयले बालबालिकालाई पुस्तकालयमा विभिन्न साहित्यिक एवम् उपयोगी पाठ्यसामग्री उपलब्ध गराएको प्रिन्सीपल सुवेदीले जानकारी दिनुभयो । कार्यक्रममा समृद्ध समाज दैनिकका सम्पादक सुरेश श्रेष्ठले ७ कक्षाभन्दा माथिल्लो तहका विद्यार्थीले अध्ययन गरेर, बुझेर विषयवस्तुको अध्ययन गर्ने र अभिव्यक्ति एवम् प्रस्तुतीमा ध्यान दिनुपर्ने सल्लाह दिनुभएको छ । विद्यालय तहबाटै विद्यार्थीमा अध्ययन, लेखन र प्रस्तुती क्षमता विकास गर्न विद्यार्थी र विद्यालय परिवारले आपसमा मिलेर काम गर्नुपर्ने सम्पादक श्रेष्ठको भनाइ थियो ।
विद्यार्थीले दुईदिनको अभ्यासमा कथा रचना तथा प्रस्तुतीकरणको आवश्यक तयारी गरेको विद्यालयका सहायक प्रिन्सीपल अमुल श्रेष्ठले जानकारी दिनुभयो । कथा लेखन तथा प्रस्तुतीकरणमा सहभागी कक्षा ७ का विद्यार्थी रुमानी बर्तौलाले कथा लेखनलाई नयाँ तरिकाबाट सिक्ने अवसरको रुपमा लिएको बताउनुभयो । यस्तै कक्षा १० मा अध्ययनरत विद्यार्थी कामना मिश्रले कथा लेखन एवम् प्रस्तुतीकरणको अभ्यासबाट लेखन कला र सीप विकास भएको बताउनुभयो । यस्तै कक्षा ९ मा अध्ययनरत विवेक यादवले कथा लेखनको अभ्यासले ज्ञान, सीप र दक्षता बढाउन सहयोग पुगेको बताउनुभयो ।