प्रतियोगितामा सहभागी टिमका क्याप्टेनलाई मायाको चिनोस्वरुप मकवानपुरे ठेकी हस्तान्तरण गर्नुहुँदै मकवानपुर सहकारी अस्पतालका अध्यक्ष विष्णुगोपाल महर्जन ।

हेटौंडाः हेटौंडाको हुप्रचौरमा जारी भेट्रान्स कप ८ ए साइड फुटबल प्रतियोगितामा बुधबार ४ खेल भएका छन् । बुधबार भएको खेलमा बगरभाई पोखरा भेट्रान्स, चावहिल भेट्रान्स काठमाडौं, सानोगौचरण भेट्रान्स काठमाडौं र हेटौंडा भेट्रान्स सुपर विजयी भएको छ ।

बगरभाई पोखरा भेट्रान्सले हाम्रो बीरगन्ज भेट्रान्सलाई १–० गोलअन्तरले पराजित गरेको छ । चावहिल भेट्रान्स काठमाडौंले बौद्ध भेट्रान्स काठमाडौंलाई १–० गोलअन्तरले पराजित गर्दा सानोगौचरण भेट्रान्स काठमाडौंले भनिमण्डल भेट्रान्स ललितपुरलाई १–० गोलअन्तरले पराजित गरेको छ । यस्तै हेटौंडा भेट्रान्स सुपरले सिमरा भेट्रान्सलाई टाइब्रेकरमा पराजित गरेको छ । निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा हेटौंडा भेट्रान्सले ४–३ गोलअन्तरले सिमरालाई हराएको हो ।

प्रतियोगिताअन्तर्गत आज बिहीबार चावहिल भेट्रान्सले डिल्लीबजार भेट्रान्सको सामना गर्नेछ । यस्तै जोरपाटी भेट्रान्सले सानोगौचरण काठमाडौंको सामना गर्दा, बगरभाई खलक पोखराले हेटौंडा भेट्रान्सको सामना गर्नेछ । यस्तै हेटौंडा भेट्रान्स सुपरले फुटसल भेट्रान्स हेटौंडाको सामना गर्नेछ । शनिबारसम्म चल्ने प्रतियोगिता नकआउटका आधारमा खेलाइएको छ । प्रतियोगितामा २० वटा टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ, उपविजेता हुने टिमले नगद ५५ हजार रुपैयाँसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । गत सोमबार हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।