हेटौंडाः बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले सबैले साथ दिए बागमती प्रदेशको विकासको काममा निरन्तर लागिरहने बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले मंगलबार ‘प्रदेश विकास दर्पण २०७७’ पुस्तक सार्वजनिक गर्दै बागमती प्रदेश सरकारले शिर ठाडो हुनेगरी काम गरेको दावी गर्नुभयो ।

मुख्यमन्त्री पौडेलले देशभरका सातै प्रदेशमध्ये बागमती प्रदेश सुशासनको पालना गर्नेमा अग्रस्थानमा भएको दावी गर्नुभयो । यस्तै प्रदेश सरकार अनियमितता, भ्रष्टाचारमा नलागेको र बेरुजु पनि निकै कम रहेको बताउनुभयो । प्रदेश सरकारले गरेका हालसम्मका कामहरु पुस्तकमा समावेश भएको मुख्यमन्त्री पौडेलले बताउनुभयो । अझै केही विषयवस्तु छुटेकाले सम्पूर्ण विषयहरुलाई समेटेर आगामी माघ २९ गते प्रदेश सरकार स्थापनाको तेस्रो वर्ष पूरा भएको अवसरमा पुस्तक प्रकाशित गर्ने उहाँले जानकारी दिनुभयो ।

प्रदेश सरकारका सबै मन्त्रालयबाट सम्पादन भएका काम कारबाहीलाई समावेश गरिएको बागमती प्रदेश विकास दर्पण आम जनताले पनि पढ्नुपर्ने उहाँले बताउनुभयो । मुख्यमन्त्री पौडेलले सुरुङमार्ग निर्माण गर्न केन्द्र सरकारसँग समन्वय हुन ढिलाई भएपनि ग्लोबल टेण्डरका लागि अन्तिम तयारी भइरहेको बताउनुभयो ।

पुस्तक सार्वजनिक कार्यक्रममा प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँल र आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलको उपस्थिति थियो । कार्यक्रममा मुख्यमन्त्री कार्यालयका सचिव प्रा.डा. हरि लम्सालले पुस्तकको बारेमा जानकारी दिनुभएको थियो । प्रदेशका प्रमुख सचिव डा. मानबहादुर बिकेले पनि पुस्तकको बारेमा बोल्नुभएको थियो ।