हेटौंडाः संसद विघटनको कदमविरुद्ध नेपाली कांग्रेस मकवानपुरले शनिबार हेटौंडामा विरोध प्रदर्शन गरेको छ । विरोधसभालाई सम्बोधन गर्नुहुँदै विघटित प्रतिनिधिसभा सदस्य प्रकाश स्नेहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आतंकवादीको संज्ञा दिनुभएको छ । उहाँले केपीे शर्मा ओलीले झापा विद्रोहमा नेपाली कांग्रेसका कार्यकर्ताहरुको टाउको काटेर १४ वर्ष जेल बसेको भन्दै शेरबहादुर देउवा आफूभन्दा फरक विचार राख्ने कुनैपनि नेपाली नागरिकको एक थोपा रगत र पसिना नबगाई १० वर्ष जेल बसेको व्यक्ति रहेको बताउनुभयो । त्यसैगरी रामचन्द्र पौडेल र शेरबहादुर देउवा लोकतन्त्रका लागि लडेका अब्राहम लिङ्कन र महात्मा गान्धीजस्ता नेता भएको नेता स्नेहीले दावी गर्नुभयो ।

प्रचण्डले १७ हजार मनिसहरुको हत्या गरेर बसिरहेको अवस्थामा नेपाली कांग्रेसले नै शान्तिपूर्ण राजनीतिमा ल्याएको स्नेहीले स्मरण गराउनुभयो । माक्र्स जन्मेको देश जर्मनीमा नै माक्र्सवाद नभई लोकतन्त्र रहेको उल्लेख गर्नुहुँदै स्नेहीले माक्र्सकै देशमा माक्र्सको सालिक ढलिसकेको बताउनुभयो । त्यसैगरी लेनिन जन्मेको देश रुसमा लेनिनवाद नभएको भन्नुहुँदै लेनिनको सालिक, संग्रहालय पनि राख्न नदिएका बेला नेपालमा भने कम्युनिष्टहरुले माक्र्सवाद र लेनिनको पूजा गर्नु असान्दर्भिक भएको स्पष्ट पार्नुभयो ।

‘जनतामा कम्युनिष्टहरुप्रति भ्रम रह्यो र अत्याधिक बुहमतले जिताएर पठाएर दुई तिहाईको सरकार बन्यो । अधिकांश स्थानीय तहहरुमा नेकपाकै नेतृत्वमा सरकार बनेको छ । प्रदेशहरुमा र संघमा पनि नेकपाकै सरकार बन्यो’, नेता स्नेहीले भन्नुभयो– ‘तर केपी शर्मा ओलीले मिठा–मिठा सपना बाँडे पनि पूरा गर्न सकेनन् ।’ केपी शर्मा ओलीले कहिले राष्ट्रियताको सपना त कहिले पानीजहाज, कहिले मोनोरेलको सपनामात्र बाँडेको भन्दै नेता स्नेहीले हरेक वर्ष करिब ५ लाख युवाहरुलाई रोजगारी दिन्छु भन्ने प्रधानमन्त्री ओलीको सपनाले नेपाली जनतामाथि कुठाराघात गरेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी मिलेर हजारौं नेपाली जनताले रगत पसिना बगाएर नेपाली जनताको चाहनाअनुसार बनाएको संविधान फ्याँक्न लागेको नेपाली कांग्रेसले टुलुटलु हेरर नबस्ने र त्यसको विरुद्ध प्रतिकार गर्ने नेता स्नेहीले बताउनुभयो । अन्य क्षेत्रहरुजस्तै राजनीतिमा पनि शिक्षित व्यक्तिहरुको प्रवेश हुनुपर्ने भन्दै सरकारमा पनि पढेलेखेको मन्त्रीहरु हुनुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डीनाले वर्तमान सरकार भष्ट्राचारमा डुबिसकेको बताउनुभयो । उहाँले वर्तमान सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानमा व्यवस्था हुँदै नभएको धारा छ भनी संसद विघटन गर्नु नेपाली जनताको अभिमतलाई अपमान भएको भन्दै प्रधानमन्त्री ओलीले नेपाली जनतामाथि कुठराघात गरेको बताउनुभयो । नेपाली जनताले ५ वर्षका लागि दिएको अभिमतलाई बेवास्ता गर्दै आफ्नै पार्टीभित्रको आन्तरिक द्वन्द्वलाई कारण देखाउँदै काम गर्न दिएनन् भनेर गैरजिम्मेवारीपूर्ण ढंगले संसद विघटन गर्नु राष्ट्र र नेपाली जनताका लागि राम्रो नगरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका कार्यवाहक अध्यक्ष विष्णु लामिछाने, नेपाली कांग्रेस हेटौंडा उपमहानगरका नगर सभापति आनन्दराम पराजुली, नेपाली कांग्रेस मकवानपुरका सल्लाहाकार अशोक शाक्यलगायतको उपस्थिति रहेको थियो ।