हेटौंडा उपमहानगरपालिका कार्यालय ।

हेटौंडाः हेटौंडा उपमहानगरभित्रका सबै वडामा वडा शिक्षा समिति गठन गरिने भएको छ । माघ महिनासम्म वडामा ७ जना सदस्य भएको वडा शिक्षा समिति गठन गरिसक्नुपर्ने हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत सरस्वती कोइरालाले जानकारी दिनुभयो । हालसम्म हेटौंडा ९, १० र १२ नम्बर वडामा वडा शिक्षा समिति गठन भइसकेको छ भने अन्य वडाहरुमा गठन हुने चरणमा रहेको उहाँले बताउनुभयो ।

वडा अध्यक्षको संयोजकत्वमा गठन हुने वडा शिक्षा समितिमा एकजना वडा सदस्य, अगुवा विद्यालयका प्रधानाध्यापक एकजना, एक महिलासहित वडाका शिक्षासेवी २ जना र विद्यालय व्यवस्थापन समितिको अध्यक्षमध्येबाट १ जना सदस्य छनौट हुनेछन् । यस्तै सम्बन्धित वडाको् वडासचिव समितिको सदस्यसचिव रहने व्यवस्था रहेको शिक्षा अधिकृत कोइरालाले जानकारी दिनुभयो ।

हेटौंडा उपमहानगरपालिकाको शिक्षा ऐन, २०७४ अनुसार चालु आर्थिक वर्षमा वडा शिक्षा समिति गठन गर्न सुरु भएको हो । २०७४ सालमै शिक्षासम्बन्धी ऐन बनेर हेटौंडा राजपत्रमा २०७५ साल असार २९ गते प्रकाशित भएको थियो । हेटौंडा उपमहानगपालिका शिक्षा ऐन, २०७४ को परिच्छेद ४ मा वडा शिक्षा समति गठन हुने व्यवस्था छ । सोहीअनुसार ऐन बनेको ३ वर्षपछि मात्रै वडा शिक्षा समिति गठनको काम अगाडि बढेको हो ।