नेपालमा प्रत्येक वर्ष बेरोजगार हुने युवाको संख्या लाखौं हुने गरेको छ । रोजगार वा स्वरोजगार आजको चुनौती हो । देशभित्र काम नपाएर वा काम गर्न नसकेपछि विदेशिनु युवाहरुको बाध्यता हो । राष्ट्र निर्माणमा लाग्नुपर्ने युवा शक्तिले विदेशमा पनि सहजै काम पाएका हुँदैनन् । हाम्रो शिक्षा प्रणाली नै सीपमूलक छैन । त्यसैले अदक्ष जनशक्ति विदेश गएपछि राम्रो काम पाउने सम्भावना हुँदैन । सीपमूलकभन्दा सैद्धान्तिक अध्ययन जीवननिर्वाहका लागि उपयोगी छैन । तर हाम्रो शिक्षा पद्दति नै त्यस्तै छ । जसले गर्दा युवाहरु अदक्ष कामदारका रुपमा मात्र विकास भएका छन् । शैक्षिक योग्यतामात्र बढाउने पढाइले दक्ष जनशक्ति नै बन्न सकेका हुँदैनन् । त्यसैले प्राविधिक शिक्षा आजको आवश्यकता हो ।

परम्परागत शिक्षाको विरोध गर्ने शक्ति सत्तामा पुग्दा पनि सुधार हुन सकेको छैन । विशेषगरी युवालाई देशमै रोजगारी वा स्वरोजगार बनाउन राज्यबाट स्पष्ट नीति आवश्यक छ । ठोस योजना बनाई कार्यान्वयन तहमै लाग्नु पर्दछ । रोजगारी श्रृजनाका लागि सीपयुक्त शिक्षा अतिरिक्त उद्योग धन्दामा जोड दिनु आवश्यक छ । उचित वातावरणको अभावमा सञ्चालन भएका अन्तर्राष्ट्रिय कम्पनीका उद्योगहरु समेत बन्द भएका छन् । उद्योगहरुलाई लगानीमैत्री, सञ्चालनमैत्री र सहयोगी वातावरण बनाई दिनु पर्दछ । लगानी भित्र्याई उद्योग सञ्चालन गर्ने हो भने धेरै युवा जनशक्ति देशमै रोजागर बन्ने छन् । अन्तर्राष्ट्रिय लगानीका उद्योगमा काम गर्न सक्ने जनशक्ति तयार गर्नु प्रथम दायित्व पूरा गर्न सक्नु राज्यको जिम्मेवारी हो ।

समाजका सबै सदस्यलाई आयआर्जनमा जोड्न घरेलु तथा साना उद्योगको प्रवद्र्धन गरिनु पर्दछ । परिवारबाटै सञ्चालन गर्न सकिने उद्योग र व्यवसायका लागि सरकारले सहुलियत ऋणको प्रबन्ध गरिदिनुपर्छ । त्यसो भए स्वरोजगार बन्नेहरुको संख्या बढ्नेछ । कोभिडका कारण विदेशिएका युवासमेत देशमा फर्किएका छन् । जसले गर्दा बेरोजगारको संख्यामा बृद्धि भएको देखिएको छ । उनीहरुलाई व्यापारदेखि उद्योगधन्दामा प्रेरित गर्न सरकारले स्पष्ट नीति बनाउन पर्दछ । पछिल्लो समय युवाहरु स्वरोजगार बन्ने क्रममा देखिएका छन् । मकवानपुरमा बढ्दै गएको उद्योग दर्ताले पनि यही तथ्यको पुष्टि गर्दछ । दर्तामात्र नभई सञ्चालन गर्न सक्ने वातावरण बनाउने दायित्व सरकारको पनि हो ।

घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरमा एक महिनामा एक सय ५४ वटा उद्योग दर्ता हुनु रोजगार तथा स्वरोजगारको संकेत हो । घरेलु तथा साना उद्योग तथा अन्य व्यावसायिक फर्महरु दर्ता भएका छन् । यस्तै नवीकरण, नामसारी, ठाउँसारीको अवस्था पनि उल्लेख्य छ । एक महिनामा ९० वटा पसल दर्ता भएका छन् । दर्ता भएर सञ्चालन गर्न खोज्नुले व्यावसायिकताको बृद्धि पनि हो । कृषि, पशुपालन, होटल, टेलर, फर्निचरजस्ता ५ लाखदेखि ५ करोड रुपैयाँसम्म स्थिर पुँजी लगानी भएका उद्योग, व्यवसायलाई घरेलु तथा साना उद्योग कार्यालयले अनुमति दिन सक्नेछ । यो क्षमताका उद्योग वा व्यवसाय सञ्चालन हुनु भनेको युवा शक्ति अब विस्तारै व्यावसायिकतातर्फ अग्रसर भएको देखिन्छ भने देशमै रोजगार श्रृजना हुनेछ । त्यसैले उद्योग र व्यवसायलाई प्रवद्र्धन गरिनुपर्छ ।