रक्तदातालाई ब्लडव्याग हस्तान्तरण गरेर रक्तदान कार्यक्रमको सुरुवात गरिँदै ।

हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रमा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाहरुले अन्तर्राष्ट्रिय स्वास्थ्य स्वयंसेविका दिवसको सन्दर्भमा शुक्रबार रक्तदान कार्यक्रमको आयोजना गरेको छ । हेटौंडा–१, राप्तीरोडस्थित रक्तसञ्चार केन्द्रमै आयोजना गरिएको रक्तदान कार्यक्रममा १५ जनाले रक्तदान गरेका छन् ।

अक्टोवर १ तारेखका दिन नै अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस भए पनि कोरोना भाइरस संक्रमणको जोखिमसँगै उत्पन्न असहजताका कारण दिवसकै दिन कार्यक्रम आयोजना गर्न नसकिए पनि दिवसकै सन्दर्भमा रक्तदान कार्यक्रमको आयोजना गरिएको स्वयंसेविका एवम् १ नम्बर वडा सदस्य वेगम बरालले जानकारी दिनुभएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका कार्यवाहक सभापति लालबहादुर थापाको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रमको उद्घाटन समारोह भएको थियो ।

उद्घाटनको अवसरमा रेडक्रस मकवानपुरका कार्यवाहक सभापति लालबहादुर थापाले ग्रामीण भेगमा डाक्टरको उपमा प्राप्त गरेका स्वास्थ्य स्वयंसेविकाहरुको सक्रियताकै कारण ग्रामीण क्षेत्रका नागरिकको स्वास्थ्य सुधारमा महत्वपूर्ण भूमिका निर्वाह भएको बताउनुभयो । आफू साविक राक्सिराङ विकास समितिको अध्यक्ष हुँदा महिला स्वास्थ्य स्वयंसेविकालाई भत्ताको व्यवस्था गरेको स्मरण गर्नुहुँदै थापाले अहिले सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई थोरै भए पनि प्रोत्साहन गर्नु सकारात्मक भएको बताउनुभयो ।

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका आयुर्वेद तथा जनस्वास्थ्य प्रवद्र्धन शाखाका उपप्रमुख भोलाप्रसाद चौलागाईले मातृशिशु मृत्युदर घटाउन, सुरक्षित मातृत्वलाई सवल बनाउन महिला स्वास्थ्य स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको औँल्याउनुभयो । सहश्राव्दी लक्ष्य हासिल गर्न स्वास्थ्य क्षेत्रको सुधारमा स्वयंसेविकाको भूमिका अझ सवल बनाउनुपर्नेमा पनि चौलागाईले जोड दिनुभएको छ ।