हेटौंडाः हेटौंडा ६ चौघडास्थित वंशगोपाल माविको १६ औं अभिभावक भेलाले विद्यालय व्यवस्थापन समितिका चारजना सदस्यहरु मनोनित गरेको छ । मंगलबार भएको विद्यालयको १६ औं अभिभावक भेलाले विजय गौतम, रामशरण दुलाल, आमुना सापकोटा र गायत्री घिमिरेलाई अभिभावकमध्येबाट विद्यालय व्यवस्थापन समितिको सदस्य चयन गरेको हो ।
विद्यालय व्यवस्थापन समितिका थप सदस्यहरु मनोनयनपछि वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षा विकास महाशाखाको प्रतिनिधिको उपस्थितिमा व्यवस्थापन समितिको अध्यक्ष चयन गरिने विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेले जानकारी दिनुभयो । अभिभावक भेलाले प्रकाश कार्कीको अध्यक्षतामा ११ सदस्यीय शिक्षक अभिभावक संघ पनि गठन गरेको छ । अभिभावक भेलामा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्य थियो ।