नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै ।

हेटौंडाः नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाले कम्युनिष्टहरुको अपवित्र गठबन्धनले जनताले दिएको मतलाई अनादर गरेको बताउनुभएको छ । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै डिनाले सत्तामा पुगेपछि भ्रष्टाचारको पोको बोकेर कम्युनिष्ट सरकारले ७० वर्षसम्म आमजनताले कठोर संघर्षबाट लडेर ल्याएको संविधानमाथि कुठाराघात गर्दै संसद विघटन गरेको बताउनुभयो ।

नेतृ डिनाले कांग्रेसले सधैं जनता र राष्ट्रियताको पक्षमा लडिरहेको बताउँदै कम्युनिष्ट नेतृत्वले संविधान बनाउन नसकी विघटन गरेको पहिलो संविधानसभा पश्चात् कांग्रेसको नेतृत्वले दोश्रो संविधानसभाबाट संविधान जारी गर्दै तीनै तहको निर्वाचन सफलतापूर्वक गराएर कम्युनिष्टलाई सत्तामा पठाउँदा पनि आन्तरिक कलह, कुर्सी मोह र भ्रष्टाचारमा लिप्त शासकहरुले व्यक्तिगत लहडमा संविधान विपरित प्रतिनिधिसभा विघटन गरेको आरोप लगाउनुभयो । ओली सरकार निकम्मा ठहरिसकेकाले अब आम जनताले ढोंगी कम्युनिष्टहरुलाई सडकमा पुर्‍याएर कांग्रेसको नेतृत्वमा पूनः सत्ता हस्तान्तरण गराई देशलाई यो संकटको भूमरीबाट उद्दार गर्न चाहेको नेतृ डिनाको भनाइ थियो ।

मकवानपुरगढी गाउँपालिका ३ र ५ को बीच सामरी खोलामा भएको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रममा कांग्रेस मकवानपुरका कार्यबाहक सभापति विष्णुप्रसाद लामिछाने, सचिव बुद्ध लामा, कोषाध्यक्ष गोपीलाल विश्वकर्मा, जिल्ला सदस्य एवम् संगठन विभाग प्रमूख कृष्णप्रसाद सञ्जेल, जिल्ला सदस्य दोर्जे लामा स्याङतान, प्रतिनिधिसभा १ का सभापति दामोदर खनाल, प्रतिनिधिसभा २ का सभापति यतिराज सापकोटा, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, मकवानपुरगढी गाउँपालिका सभापति राजवीर मोक्तान, नवप्रवेशी देवनारायण लामिछाने, गढी गाउँपालिकाका युवा नेता सानुकान्छा थिङलगायतले मन्तव्य राख्नुभएको थियो । मकवानपुरगढी गाउँपालिका २, ३, ४ र ५ नम्बर वडा इकाईको संयुक्त आयोजनामा सामरीखोलामा भएको कार्यक्रममा एक सय ३० जना नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् ।