मकवानपुरको मनहरी गाउँपालिकाकी उपाध्यक्ष मनिला विष्ट पदमुक्त हुनुभएको छ । उपाध्यक्ष विष्टले दिनुभएको राजीनामा गाउँ कार्यपालिकाको बैठकमा दर्ताभएसँगै विष्ट पदमुक्त हुनुभएको हो । विष्टले राजीनामा दिएसँगै गाउँपालिकाको उपाध्यक्ष पद रिक्त भएको छ । मंसिर २९ गते नै उपाध्यक्षले राजीनामा दिए पनि गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले उपाध्यक्षको राजीनामा बारे सार्वजनिक गर्नुभएको थिएन ।
गाउँ कार्यपालिकाका सदस्यहरुले उपाध्यक्षको राजीनामा बारे स्पष्ट पार्न भन्दै दबाव सिर्जना गरेपछि उपाध्यक्षको राजीनामा प्राप्त भएको सार्वजनिक गरिएको अध्यक्ष उप्रेतीले बताउनुभएको छ । संवैधानिक व्यवस्थाअनुसार गाउँपालिकाको उपाध्यक्षले अध्यक्षलाई राजीनामा बुझाए पदमुक्त हुने व्यवस्थाअनुसार राजीनामा दर्ता गराउनु नै पर्याप्त हुने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।
शुक्रबार अध्यक्ष उप्रेतीले गाउँ कार्यपालिकाको बैठकमा उपाध्यक्षको राजीनामा दर्ता गराउनुभएको छ । नेपालको संविधान २०७२ को भाग १७ स्थानीय कार्यपालिकाअन्तर्गत धारा २१५ को उपधारा ८ (क) मा अध्यक्षले उपाध्यक्ष समक्ष र उपाध्यक्षले अध्यक्ष समक्ष राजीनामा दिएमा, (ख) मा निजको पदावधि समाप्त भएमा र (ग) मा निजको मृत्यु भएमा पद रिक्त रहने व्यवस्था गरिएको छ ।