हेटौंडाः प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोट खेलमा शनिबार मकवानपुरले भक्तपुरलाई पराजित गरेको छ । लगातार दोस्रो खेल जित्ने क्रममा मकवानपुरले भक्तपुरलाई ६ विकेटले पराजित गरेको हो । यसअघि मकवानपुरले शुक्रबार नुवाकोटलाई २१३ रनले पराजित गरेको थियो ।
शनिबार काठमाडौंको त्रिवि किक्रेट मैदानमा टस जितेर पहिले व्याटिङ रोजेको भक्तपुरले ३६ ओभर २ बलमा १३६ रन मात्रै बनाउन सक्यो । १३७ रनको जवाफी लक्ष्य लिएर व्याटिङमा उत्रिएको मकवानपुरले २७ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य भेट्टायो । मकवानपुरको तर्फबाट तक्षक सिम्खडाले सर्वाधिक ६४ रनको योगदान गर्दै अविजित रहेको प्रशिक्षक सञ्जय महर्जनले जानकारी दिनुभयो । मकवानपुरका लागि शुभ कंशाकारले २२ र बिशाल फूयाँलले २२ रनको योगदान गरे । यसअघि मकवानपुरका बलर सामु भक्तपुरको टिम निरिह बनेको थियो । मकवानपुरका बलर रिजन ढकालले ३ विकेट लिँदा विशाल फूयाँल र पियुस शर्मामाले २/२ विकेट लिएका थिए ।