हेटौंडाः बागमती प्रदेशको नवनियुक्त स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवम् सपथग्रहण कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । नेपाल स्काउटको रष्ट्रिय संयोजक लोकबहादुर भण्डारीको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको प्रमुख अतिथ्यता रहेको थियो ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री पौडेलले बिग्रँदो समाजलाई मर्यादित बनाउन नेपाल स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले हामी सबैले समाजमा रहेको विकृति हटाउन जरुरी रहेको र त्यस कार्यका लागि स्काउट अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ । मुख्यमन्त्री पौडेलले स्काउटको भूमिका बालबालिकाप्रति सकारात्मक रहेकोसमेत बताउनुभयो ।
मुख्यमन्त्री पौडेललाई नेपाल स्काउट बागमती प्रदेशले संस्थाको संरक्षकको रुपमा दीक्षित गरेको छ । नेपाल स्काउट बागमती प्रदेशका संरक्षक तथा मुख्यमन्त्री पौडेलले नवनियुक्त बागमती प्रदेश स्काउट तदर्थ समितिका संयोजक तथा सदस्यहरुको दीक्षान्त एवम् पद तथा गोपनियताको सपथग्रहण गराउनुभएको थियो ।
कार्यक्रममा बागमती प्रदेशसभा सदस्य दीपक निरौलाले स्काउटले समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियानमा आफ्नो क्रियाकलाप गर्दै सघाउने भन्दै नवनियुक्त स्काउट तदर्थ समितिलाई शुभकामना व्यक्त गर्नुभयो । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले स्काउट सञ्चालनका निमित्त व्यवस्थापकीय तथा आर्थिक पक्षको पनि उत्तिकै महत्व रहने भन्दै नवनियुक्त समितिले बागमती प्रदेश सामाजिक विकास मन्त्रालय, स्थानीय तहहरुसँग समवन्य गर्दै अघि बढेमा त्यस्तो समस्या नपर्ने बताउनुभयो ।
नेपाल स्काउटका प्रदेश सल्लाहकार गुज्जबहादुर श्रेष्ठले नेपालमा स्काउटको महत्व कम बुझेको महसुस भएको भन्दै अहिले झन स्काउटभित्र नै असन्तुष्टि रहने पक्ष पनि रहेकाले सबै मिलेर अघि बढ्नुपर्ने बताउनु भयो । उहाँले अब स्काउटलाई ७ वटै प्रदेशमा विस्तार गर्दै, विद्यालय तहसम्म पनि विस्तार गरेर असल नागरिक बनाउन र गुणस्तरीय शिक्षामा केन्द्रित भई आफ्ना कार्यक्रमहरु गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा बागमती प्रदेशका प्रमुख सचिव मानबहादुर विकेले नवनियुक्त स्काउट तदर्थ समितिलाई शुभकामना दिँदै समाज र राष्ट्र निमारुणमा स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको बताउनुभयो । बागमती प्रदेशका नवनियुक्त स्काउट संयोजक केशरत्न बज्राचार्यले स्काउटलाई विद्यालय तहसम्म पुर्याउने र विभिन्न सामाजिक कार्यहरु गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेपाल स्काउटका रष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले स्काउटका सिर्जनाहरु विद्यालय तहसम्म लैजान नवनियुक्त स्काउट तदर्थ समितिलाई आग्रह गर्नुभयो । उहाँले सामाजिक विकृतिहरु हटाउन र राज्यलाई संकट परेको समयमा सघाउँदै नेपाल स्काउटले महत्वपूर्ण भूमिका खेल्दै आएको र आगामी दिनहरुमा पनि विभिन्न स्काउटका कार्यक्रमहरु सञ्चालन गर्दै जाने बताउनुभयो । कार्यक्रममा विभिन्न विद्यालय तहका स्काउटमा आबद्ध विद्यार्थीहरु, जिल्ला तथा केन्द्रीय तहका स्काउटका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो