हेटौंडाः प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोट प्रतियोगितामा शुक्रबार मकवानपुरले नुवाकोटलाई भारी रनले पराजित गरेको छ । मकवानपुरले नुवाकोटलाई २१३ रनले पराजित गर्दै सुखद विजयी सुरुवात गरेको छ ।
टस जितेर पहिले व्याटिङ गरेको मकवानपुरले २ सय ६७ रन बनाएर २ सय ६८ रनको लक्ष्य नुवाकोटलाई प्रस्तुत गरेको थियो । नुवकोटले सबै विकेट गुमाएर ५५ रनमा अलआउट भएपछि मकवानपुरले भारी रनका साथ खेल जितेको प्रशिक्षक सञ्जय महर्जनले बताउनुभयो ।
मकवानपुरका लागि व्याटिङतर्फ गौरव खड्काले सर्वाधिक ६० रन बनाए भने विशाल फुयाँलले ५४ रन, राम नरेश गिरीले ४४, शुभ कंशाकारले २५ र तक्षक सिम्खडाले २० रन जोडेका थिए । यस्तै बलिङतर्फ सूवर्ण भट्टले र पियु शर्माले ३-३ विकेट लिए भने राम नरेश गिरी र रिजन ढकालले २-२ विकेट लिएका थिए । अब मकवानपुरले भोलि शनिबार त्रिवि क्रिकेट मैदानमा भक्तपुरसँग र समूह चरणको अन्तिम खेलमा मकवानपुरले काठमाडौंसँग मूलपानी क्रिकेट मैदानमा खेल्नेछ ।