हेटौंडाः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले गणतन्त्र, धर्म निरपेक्षता र संघीयता बिदेशी एजेण्डा भएको बताउनुभएको छ । बिदेशीको इसारामा माओवादीले शुरुमा त्यो भारी बोकेर आएको र केही समयपछि कांग्र्रेस–एमालेले त्यो भारी बोक्न तयार भएको राप्रपा अध्यक्ष थापाको दावी गर्नुभएको छ । गृह जिल्ला मकवानपुरको बागमती गाउँपालिकाको छतिवनमा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलामा बोल्नुहुँदै अध्यक्ष थापाले बिदेशीको प्रायोजनमा भएको आन्दोलनले जनताको असली भावना बोक्न नसक्ने दावी गर्नुभयो ।
राप्रपा सबै धर्मलाई बराबरीको समानता र स्वतन्त्रताको पक्षमा रहेको तथा पहिचानको रुपमा हिन्दुराष्ट्र हुनुपर्ने भन्दै अध्यक्ष थापाले कुनै धर्म र आस्थाप्रति आफ्नो आपत्ती नभएको तर योजनाबद्ध ढंगले धर्म परिवर्तन गराउँदै हिँड्ने प्रवृत्तिको भने विरोध गरेको स्पष्ट पार्नुभयो । धर्म नास हुँदा नैतिक मूल्य, मान्यता र चरित्र समाप्त हुने भन्दै भ्रष्टाचार, व्यभिचार बढेर गएको धर्मप्रतिको अनास्था भएको बताउनुभयो । कसैसँग डर नभएर यस्तो भएको थापाको टिप्पणी थियो । बिदेशीहरु आएर नेताको घर–घरमा गरेको दौडले स्वाभिमान र सार्वभौमिकता कमजोर भएको थापाको भनाइ थियो ।
बिदेशी प्रभाव र हस्तक्षेपको थापाले चर्को विरोध गर्नुहुँदै चुनाव जित्ने संगठन अहिलेको आवश्यकता भएको धारणा राख्नुभयो । कार्यक्रममा बोल्दै राप्रपा कार्यसम्पादन समितिका सदस्य मधु अधिकारीले कांग्रेस कम्युनिष्ट असफल सावित भएकोले अब जनताले राप्रपालाई रोज्नुपर्ने विचार व्यक्त गर्नुभयो । राप्रपा मकवानपुर जिल्ला अध्यक्ष रामहरी न्यौपाने, क्षेत्रीय अध्यक्ष राजाराम अर्याल, गोबर्धन गौतम, राजन घिमिरे लगायतले धारणा राख्नुभएको कार्यक्रममा राप्रपा पार्टी प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गर्नुभएको थियो ।