हेटौंडाः महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह नेपाल (एटविन) ले मानव बेचबिखनबाट पीडित/प्रभावित व्यक्तिहरुको उद्दार तथा फिर्तीका लागि कार्यसञ्चालन प्रक्रियासम्बन्धी मापदण्डको मस्यौदामा प्रादेशिक छलफलको आयोजना गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा शुक्रबार सरोकारवाला निकाय र एटविनमा आवद्ध संस्थाका पदाधिकारीको सहभागितामा मापदण्डको मस्यौदामा छलफल गरेको हो ।

यौनशोषण, श्रमशोषण तथा मानवअङ्ग निकाल्ने प्रयोजनले मावन बेचबिखनमा परी पीडित तथा प्रभावितको उचित उद्दार र उद्दारपश्चात उनीहरुको समुदायमा सुरक्षित पुनस्र्थापनाका लागि आवश्यक मापदण्ड निर्माण गर्न छलफलको आयोजना गरिएको एटविनकी कार्यकारी निर्देशक बेनुमाया गुरुङले जानकारी दिनुभयो । लाखौं युवा खाडी मुलुकमा श्रमशोषण परेको, युवतीहरु घरेलु कामदारको रुपमा जाँदा यौन तथा श्रम शोषणमा परेको, अंगप्रत्यारोपणकै लागि व्यक्तिहरु बेचिएको घटनामा पीडितको उद्दार र पुनस्र्थापनाका लागि सरकारसँग कुनै किसिमको मापदण्ड र योजना नभएका बेला एटविनले सरकारलाई घच्घच्याउन पनि मापदण्ड तयार पारेको कार्यकारी निर्देशक गुरुङको भनाइ छ ।

रत्नकाजी बज्राचार्यले तयार पार्नुभएको मस्यौदामा सहभागीबीच समूह बनाएर मापदण्डको अनुच्छेद–अनुच्छेदमा छलफल गरिएको छ । ४१ वटा गैरसरकारी संस्था सदस्य रहेको समूहले आयोजना गरेको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मीना कुमारी लामा, बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयका अधिकारी, एटविनकी अध्यक्ष नातिसरा राई, निवर्तमान अध्यक्ष अञ्जना शाक्यको पनि सहभागिता रहेको थियो ।