रक्तदातालाई रगत संकलन गर्ने व्याग हस्तान्तरण गरेर कार्यक्रमको उद्घाटन गर्दै कार्यक्रमका अतिथिहरु ।

हेटौंडाः हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा बुधबार रक्तदान कार्यक्रम भएको छ । निर्मल मावि पूर्व विद्यार्थी समाजले विद्यालयको ४५ औं स्थापना दिवसको अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा ३२ जनाले रक्तदान गरेका छन् । युवा रेडक्रस सर्कल निर्मल माविकी सभापति अनुषा पाँचकोटीको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका १९ नम्बर वडा अध्यक्ष नरनाथ सुवेदीको प्रमुख आतिथ्यमा रक्तदान कार्यक्रम भएको हो ।

विद्यालय तहको अध्ययन पूरा गरेर विभिन्न पेशा, व्यवसायमा आवद्ध भएका पूर्वविद्यार्थीले विद्यालयको भौतिक तथा शैक्षिक विकासमा सहयोग गर्ने उद्देश्यले पूर्वविद्यार्थी समाज गठन गर्दैै पहिलो कार्यक्रमको रुपमा रक्तदान कार्यक्रम गरेका हुन् । पूर्वविद्यार्थी समाजले विद्यालयका लागि बस सञ्चालन गर्न कोष खडा गर्ने घोषणा गरेका छन् । पूर्वविद्यार्थीको घोषणासँगै वडा अध्यक्ष नरनाथ सुवेदीले पनि वडाको तर्फबाट हुने सहयोगका लागि तयार रहेको बताउनुभएको छ ।

रक्तदान कार्यक्रममा विद्यालय व्यवस्थापन समितिकी अध्यक्ष इन्दिरा लामा, पूर्वविद्यार्थी समाजका अध्यक्ष राजकुमार थापा, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सदस्य राजु घले, निर्मल बहुमुखी क्याम्पस सञ्चालक समितिका सदस्य सागर उप्रेती, राजु नेपालीको पनि उपस्थिति रहेको पूर्वविद्यार्थी समाजका प्रथम उपाध्यक्ष कुमार पोखरेलले जानकारी दिनुभएको छ ।