हेटौंडाः प्रहरीले आइतबार पनि मकवानपुरमा गाँजा फाँडेको छ । प्रहरीले मकवानपुरको राक्सिराङ गाउँपालिका–३ को लावती, सरिखेत, पलाँसे र कैलाश गाउँपालिका–५ का विभिन्न स्थान गरी करिब ३२ बिगाहा ५ कठ्ठा जमिनमा लगाइएको गाँजा खेती नष्ट गरेको जनाएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अविनाश अधिकारी, ईलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी निरिक्षक बिनोद श्रेष्ठ र ईलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विकास कुमार तामाङको कमाण्डमा संयुक्त रुपमा खटिएको ८५ जना प्रहरी टोलीले गाँजा फँडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ । मंसिर २० गतेदेखि मकवानपुर प्रहरीले अभियानकै रुपमा गाँजा खेती नष्ट गर्न सुरु गरेको छ ।