हेटौंडाः सामुदायिक विकास संस्थाको आयोजना तथा प्लान ईन्टरनेशनल नेपालको सहयोगमा सञ्चालित सिकाई परियोजनाअन्तर्गत् मनहरी गाउँपालिकामा सञ्चालित नमुना कक्षा व्यवस्थापन कार्यक्रमको शुक्रबार अनुगमन गरिएको छ । मनहरी गाउँपालिका वडा नम्बर ९ मा रहेको युवावर्ष आधारभूत विद्यालय र वडा नम्बर ७ मा रहेको ब्रह्मकाली आधारभूत विद्यालयको अनुगमन गरिएको छ ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठक, सामुदायिक विकास संस्थाका अध्यक्ष पद्मा पौडेल, प्लान ईन्टरनेशनल नेपालका मकवानपुर जिल्ला प्रमुख बसन्त श्रेष्ठलगायतको टोलीले कार्यक्रम सञ्चालन भएका विद्यालयको स्थलगत अनुगमन गर्नुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले जिल्ला समन्वय समितिले विद्यालहरुको समस्या राम्रोसँग बुझ्दै आएको र विद्यालयहरुसँग समन्वय गर्दै विभिन्न कार्यक्रमहरु पनि सञ्चालन गरिरहेको बताउनुभयो । विद्यालयको थप स्तर उन्नतिका लागि आवश्यक सहयोग र समन्वयका लागि सधैं तत्पर रहेको उहाँले बताउनुभयो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) का प्रमुख बद्रीबहादुर पाठकले नमुना कक्षा व्यवस्थापन कार्यक्रमले विद्यालय तहमा भर्खरै स्कूल भर्ना भएका साना–साना विद्यार्थीहरुलाई पठनपाठनमा थप सहज हुने विश्वास लिएको बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पबाट क्षति भएका मकवानपुर जिल्लाका विद्यालयहरुको भौतिक संरचना निर्माणमा जिल्ला आयोजना कार्यान्वयन इकाईले निरन्तर काम गर्दै आएको बताउनुभयो ।

कार्यक्रममा युवावर्ष आधारभूत विद्यालयका प्रधानाध्यापक शरदकुमार अधिकारीले हाल विद्यालमा २ सय १० जना विद्याथीहरु अध्ययनरत रहेको बताउँदै नमुना कक्षा व्यवस्थापन कार्यक्रमलाई साना–साना विद्याथीहरुले मनपराएको र उनीहरुलाई पठनपाठनमा समेत सहज भएको बताउनुभयो ।

मनहरी गाउँपालिका वडा नम्बर ७ मा रहेको ब्रह्मकाली आधारभूत विद्यालयका सहायक प्रधानाध्यापक विदूरप्रसाद धितालले विद्यालयमा आवश्यकताअनुसारको शिक्षक भएमा विद्यालयलाई नमुना विद्यालयको रुपमा अघि बढाउने बताउनुभयो । उहाँले नमुना कक्षा व्यवस्थापन कार्यक्रमअन्तर्गत् भित्तेलेखन, पेन्टिङ, कार्पेटिङजस्ता कार्यले विद्यार्थीहरु थप उत्साहित बनेको बताउनुभयो ।

सामुदायिक विकास संस्थाका अध्यक्ष पद्मा पौडेलले कार्यक्रमलाई निरन्तरता दिँदै जिल्लाका अन्य विद्यालयहरुमा विस्तार भएको बताउनुभयो । कार्यक्रममा प्लान ईन्टरनेशनल मकवानपुरका प्रमुख बसन्त श्रेष्ठले यस्ता कार्यक्रमहरुले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाइ्र्र पढ्न थप सहयोग हुने बताउनुभयो । उहाँले दातृसंस्थाले कार्यान्वयनमा ल्याएका राम्रा कार्यक्रमलाई विद्यालयहरुले नै निरन्तरता दिन आग्रह गर्नुभयो ।

नमुना कक्षा व्यवस्थापन कार्यक्रम संयोजक अर्जुन खड्काले गतवर्ष यो कार्यक्रम मकवानपुरका ८० वटा विद्यालयहरुमा सञ्चालन भइसकेको बताउनुभयो । यसवर्ष मनहरी, बकैया, बागमती र राक्सिराङ गाउँपालिकाका एक सयवटा विद्यालयमा नमुना कक्षा व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने खड्काले बताउनुभयो ।