हेटौंडाः मकवानपुरगढी गाउँपालिकाका विद्यालयका प्रधानाध्यापकलाई एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणालीबारे दुईदिने कार्यशाला सम्पन्न भएको छ । प्राथमिक तह र निमावि, मावि तह गरी दुई चरणमा आयोजना गरिएको कार्यशाला बुधबार सकिएको हो । प्राथमिक तहका विद्यालयका प्रधानाध्यापकहरुका लागि आइतबार र सोमबार दुईदिन कार्यशालाको आयोजना गरिएको थियो भने निमावि तथा मावि तहका प्रधानाध्यापकका लागि मंगलबार र बुधबार कार्यशालाको आयोजना गरिएको हो ।
मकवानपुरगढी गाउँपालिकाको भानु माविमा आयोजित कार्यशालामा जनता माविका प्रधानाध्यापक होमबहादुर नेपालीले सहजीकरण गर्नुभएको थियो । गाउँपालिकाका शिक्षा अधिकृत रामबहादुर घलानको प्रमुख आतिथ्य तथा भानु माविका प्रधानाध्यापक राजेन्द्र थापाको अध्यक्षतामा कार्यशालाको समापन कार्यक्रम भएको हो ।