हेटौंडाः जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशील सिंह राठौर सम्मानित हुनुभएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्दार, संरक्षण तथा न्यायको लागि लड्ने सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्र मकवानपुर शाखाले प्रहरी प्रमुख राठौरलाई मंगलबार सम्मान गरेको हो ।
नेपाल सरकारले गएको असोज ३ गते संविधान दिवसको अवसरमा प्रहरी प्रमुख राठौरलाई प्रवल जनसेवा श्री चतुर्थबाट विभूषित गरेको अवसरमा केन्द्रले मंगलबार बधाई, शुभकामना तथा सम्मान गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथि जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनी, मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष मञ्जु खाँड, केन्द्रीय सल्लाहकार धनुमाया मगर, सुवास श्रेष्ठ, जिल्ला अध्यक्ष सम्पूर्णकुमारी सिग्देललगायतले प्रहरी उपरीक्षक राठौरलाई सम्मान गर्दै बधाई तथा शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा मञ्जुश्री असहाय संरक्षण केन्द्रका केन्द्रीय अध्यक्ष खाँडले अन्यायमा परेका असहाय महिला, बालबालिकाहरुको उद्दार, संरक्षण तथा न्यायका लागि आफूहरु लागि परिरहेको बताउनुभयो । देशमा बलात्कार, हत्याजस्ता हिंसात्मक घटना बढेकोमा चिन्ता व्यक्त गर्दै उहाँले बलात्कारीलाई फाँसीको सजाय हुनुपर्ने बताउनुभयो ।उहाँले हाल चितवनमा २२ जना बालबालिकाहरु केन्द्रको संरक्षणमा रहेको जानकारी दिनुभयो । हाल २३ जिल्लामा केन्द्रको शाखा गठन भएको र ७७ वटै जिल्लामा केन्द्रको शाखा गठन गरिने अध्यक्ष खाँडले बताउनुभयो ।
कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख राठौरले मकवानपुरमा बलात्कार, हत्याजस्ता हिंसाका घटनाहरु बढेको बताउनुभयो । जिल्लामा भएका घटनाको जानकारी दिँदै घटनाहरुमा संलग्नलाई नियन्त्रणमा लिएर कानुनी दायरामा ल्याउन मकवानपुर प्रहरी सफल भएको दावी गर्नुभयो । उहाँले समाज सचेत भए महिला हिंसाहरुका घटनाहरु कम हुने बताउनुभएको छ ।
जिल्ला समन्वय समिति उपप्रमुख भगवती पुडासैनीले आफूहरु अझै पनि महिलाको हक, अधिकारका लागि लडिरहेको जानकारी गराउनुभयो । अझै पनि समाजमा महिलाहरुलाई सजिलै कार्यक्रममा निस्कन सहज नभएको उहाँको भनाई छ । उहाँले आफ्नो हक, अधिकारका लागि आफैं अघि बढ्नुपर्ने भन्दै मञ्जुश्री असहाय संरक्षण केन्द्रले गरेको कार्यहरुमा आफ्नो साथ रहेको बताउनुभयो ।