रेफ्रीलाई बल हस्तान्तरण गरेर खेलकुद प्रतियोगिताको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री डोरमणि पौडेलसहित उद्घाटन कार्यक्रममा अतिथिहरु ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा शनिबारबाट सुरु भएको अध्यक्ष कप फुटबल प्रतियोगिताअन्तर्गत आइतबार भएको खेलमा वडा नम्बर २ विजयी भएको छ । वडा नम्बर २ र वडा नम्बर ९ बीच भएको खेल निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएको थियो ।

वडा नम्बर २ का लागि सञ्जीव थिङले खेलको २५ औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । २ नम्बर वडाले अग्रता धेरैबेर टिक्न सकेन । वडा नम्बर ९ का विशेष मोक्तानले ३१ औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । पेनाल्टीमा २ नम्बर वडा ३–२ गोलअन्तरले विजयी भयो । आइतबारको खेलमा २ नम्बर वडाका गोलकिपर समीर रुम्बा म्यान अफ दि म्याच घोषित भए । मनहरी–७, रमौलीस्थित प्रस्तावित मदन भण्डारी क्षेत्रीय रंगशालामा शनिबार मुख्यमन्त्री डोरमणि पौडेलले प्रतियोगिताको उद्घाटन गर्नुभएको हो ।

प्रतियोगितामा सोमबार वडा नम्बर ३ र वडा नम्बर ८ बीच तथा वडा नम्बर ४ र वडा नम्बर ५ बीच खेल हुने मनहरी गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष नविन सुवेदीले जानकारी दिनुभएको छ । गाउँपालिकाका ९ वटै वडाको टीम सहभागी भएको प्रतियोगिताको विजेताले नगद एक लाख रुपैयाँसहित शिल्ड तथा मेडल प्राप्त गर्नेछ भने उपविजेताले ५० हजार रुपैयाँ नगदसहित शिल्ड तथा मेडल प्राप्त गर्नेछ । गाउँपालिकाको लगानीमा जारी प्रतियोगितामा विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।