हेटौंडाः हेटौंडाका जनप्रतिनिधि कुटिएका छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का वडासदस्य सोम लामालाई युवाको एक समूहले कुटपिट गरेका हुन् । कुटपिटको आरोपमा जिल्ला प्रहरी कार्यालय मकवानपुरले ३ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । युवाको आक्रमणबाट घाइते वडा सदस्य लामाको छातीमा चोट लागेकोले हेटौंडास्थित हेटौंडा मोडेल अस्पतालमा उपचार भइरहेको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ का २० वर्षका रोशन पाख्रिन, २४ वर्षीय रतन पाख्रिन र २१ वर्षीय सुजन थोकरलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायव उपरीक्षक ईन्द्र बहादुर रानाले जानकारी दिनुभयो । उनीहरुलाई मुद्दा दर्ता गरेर प्रमुख जिल्ला अधिकारी समक्ष उपस्थित गराई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । वडा सदस्य सोम लामाले विद्यालय भवन निर्माणको विषयलाई लिएर विवाद भएपछि आफूमाथि योजनावद्ध रुपमा आक्रमण भएको दावी गर्नुभएको छ । वडा सदस्यमाथि आक्रमणको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।