हेटौंडाः फुटबल खेलका राष्ट्रिय खेलाडी अमीर श्रेष्ठले फुटबल खेलको प्रशिक्षकको भूमिका निर्वाह गर्न सुरु गर्नुभएको छ । हेटौंडा–१० स्थित वनविज्ञान अध्ययन संस्थानको खेलमैदानमा आइतबारदेखि अमीरले फुटबल प्रशिक्षण सुरु गर्नुभएको हो । प्रशिक्षणमा मकवानपुरको हेटौंडा उपमहानगर र मनहरी गाउँपालिकाका खेलाडीहरुको सहभागिता रहेको छ ।

कोरोना महामारीले गर्दा नेपाली फुटबल पछाडि परिरहेको र त्यसमा पनि मकवानपुरको फुटबल झनै पछि पर्ने अवस्थालाई मध्यनजर गर्दै र आफू फुटबल खेल्न विभिन्न ठाउँहरुमा जाँदा फुटबल प्रशिक्षणका लागि अनुरोध भएअनुसार फुटबल प्रशिक्षण सुरु गरेको श्रेष्ठले बताउनुभयो । प्रशिक्षक श्रेष्ठ भन्नुहुन्छ, “एउटा शिक्षकले आफ्नो करिअरमा स्कूल, कलेज, ट्यूसनलगायत विभिन्न ठाउँहरुमा पढाएर आर्थिक उपार्जन गर्न सक्छन् । तर, खेलाडीको हकमा उसले आर्थिक उपार्जनको एउटै बाटो भनेको फुटबल र मैदानमात्र हो ।” अहिले कोरोना महामारीले गर्दा मोफसलका खेलहरु, राष्ट्रिय लिगका खेलहरु, पहिलेबाटै हुँदैआएका प्रतियोगिताहरुसमेत नहुँदा खेलाडीहरु आर्थिक समस्यामा परेको श्रेष्ठले बताउनुभयो ।

यस्तो विषम् परिस्थितिमा खेलाडीहरु विदेशिने, राम्रा खेलाडीहरु पलायन हुने सम्भावना रहने भएकाले उनीहरुलाई निराश हुन नदिन र आफ्नो ठाउँमा आफूले फुटबल खेलबारे सिकेका, जानेका कुराहरु निःशुल्क सिकाउन सुरु गरेको श्रेष्ठले बताउनुभयो । फुटबल प्रशिक्षणमा १५ जना खेलाडीहरुको सहभागिता रहेको र यो संख्या विस्तारै बढ्ने प्रशिक्षक श्रेष्ठले बताउनुभयो ।