हेटौंडाः हेटौंडा–२ स्थित पञ्चरत्न बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौथो वार्षिक साधारणसभा शुक्रबार सम्पन्न भएको छ । कोभिड–१९ संक्रमणको जोखिमका बीच सहकारी विभागले जारी गरेको निर्देशनबमोजिम मंसिर १४ गतेबाट कार्यालय परिसरमै सेयर सदस्यहरुलाई उपस्थित गराउनुका साथै आवश्यक सल्लाह, सुझावसमेत संकलन गरेको सहकारीले शुक्रबार एक कार्यक्रमका बीच साधारणसभाको समापन गरेको हो ।
सहकारीका अध्यक्ष भोजमान श्रेष्ठको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतको प्रमुख आतिथ्यमा साधारणसभाको समापन कार्यक्रम भएको हो । साधारणसभामा हेटौंडा उपमहानगरपालिका २ नम्बर वडा सदस्यहरु रेणु गुरुङ र महेश्वरमान श्रेष्ठ, जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।
साधारणसभाको अवसरमा सहकारीका सेयर सदस्यका परिवारबाट एसईईमा उत्कृष्ट नतिजा हासिल गर्ने छात्रछात्रा तथा सहकारीका उत्कृष्ट बचतकर्ता, ऋणीलाई सम्मानसमेत गरिएको थियो । दुई हजार एक सय एकजना सेयर सदस्य रहेको सहकारीमा एक करोड ८९ लाख ९६ हजार रुपैयाँ शेयर पुँजी रहेको सहकारीका अध्यक्ष भोजमान श्रेष्ठले जानकारी दिनुभएको छ ।