Home मुख्य समाचार हेटौंडा अस्पतालमा कोरोना प्रयोगशाला सञ्चालनको तयारी

हेटौंडा अस्पतालमा कोरोना प्रयोगशाला सञ्चालनको तयारी

हेटौंडाः बागमती प्रदेशको मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत् हेटौंडा अस्पतालमा छिट्टै कोरोना भाइरस परीक्षण गर्ने प्रयोगशाला सञ्चालनमा आउने भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले हेटौंडा अस्पतालमा कोरोना प्रयोगशाला स्थापना गरेर निःशुल्क सेवा दिने तयारी गरेको हो ।

हाल बागमती प्रदेश सरकारले सञ्चालन गरिरहेको कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौंडाको प्रयोगशालालाई केन्द्रले नै सञ्चालन गर्ने भएको छ । कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका निर्देशक मोहम्मद दाउदले बागमती प्रदेश सरकारले सञ्चालन गरिरहेको कोरोना प्रयोगशालामा डेङ्गु, मलेरिया, कालाजार र स्क्रवटाइफस तथा अन्य कीटजन्य रोगहरुको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले प्रयोगशालको मेसिनसहित स्थान खालि गर्न सामाजिक विकास मन्त्रालयलाई मंसिर १० गते पत्र पठाउनुभएको छ । यसबारे सामाजिक विकास मन्त्री युवराज दुलालसँग कोरोना प्रयोगशाला हालको स्थानबाट अन्यत्र सार्न सहमति भइसकेको छ । बागमती प्रदेशले केन्द्रको प्रयोगशालामा कोरोना प्रयोगशाला स्थापना गरेपछि केन्द्रका कर्मचारीहरु कामविहीन भएका थिए ।

बागमती प्रदेश सरकारले अब हेटौंडा अस्पतालमा प्रयोगशाला स्थापना गरेर कोरोना परीक्षण गर्ने तयारी गरेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तमराज सेढाईंले जानकारी दिनुभयो । यसका लागि मन्त्रालयले पीसीआर परीक्षण गर्ने मेसिनबाहेक प्रयोगशाला व्यवस्थापन गर्नका लागि हेटौंडा अस्पताललाई ३५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । सामाजिक विकास मन्त्रालयले हालको लागि हेटौंडा अस्पतालमा कोरोना प्रयोगशालको लागि दक्ष जनशक्तिको पनि व्यवस्थापन गर्ने भएको छ । हेटौंडा अस्पतालले पनि प्रयोगशाला व्यवस्थापनका लागि केही रकम खर्च गर्नसक्ने मन्त्रालयका प्रवक्ता सेढाईंले बताउनुभयो ।

हेटौंडा अस्पतालमा हालका लागि कोरोना प्रयोगशाला स्थापना गर्न कुनै स्थान खाली छैन । अस्पतालको सेवाहरु विस्तार हुँदै गएको छ । अस्पतालमा काम गर्ने जनशक्ति पनि थपिँदै गएका छन् । अस्पताल परिसरमा निर्माण भइरहेको भवनको हस्तान्तरण नभएसम्म प्रयोगशाला वा अन्य सेवा विस्तार गर्न स्थानको अभाव भएको अस्पताल प्रशासनले जनाएको छ । कोरोना प्रयोगशाला सञ्चालन गर्न हेटौंडा अस्पतालले हालको ओपीडी सेवा दिइरहेको भवनलाई लक्षित गरेको छ । ओपीडी भवनमा ४ कोठा खाली भएको भन्दै त्यहाँ सञ्चालन गर्न सकिने अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. प्रवीण श्रेष्ठले बताउनुभयो । प्रयोगशाला सञ्चालन गर्नेबारे छलफल भएपनि तत्कालै सुरु गर्ने निर्णय नभएको उहाँले बताउनुभयो । अबको केही समयमै प्रयोगशाला सञ्चालन गर्ने तयारी भएको उहाँको भनाइ छ ।

Exit mobile version