हेटौंडाः नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले २० वर्षसम्म पत्रकारितालाई मुख्य पेशा बनाई ६० वर्ष उमेर पुगेका ज्येष्ठ पत्रकारका लागि मासिक ४ हजार रुपैयाँका दरले पेन्सन दिने निर्णय गरेको छ । पत्रकार महासंघ मकवानपुर शाखाको बुधबारको कार्यसमिति बैठकले ज्येष्ठ पत्रकार पेन्सन सम्बन्धी कार्यविधी–२०७७ पारित गर्ने निर्णय गरेको छ । कार्यसमितिले पारित गरेको कार्यविधि साधारणसभाबाट पारित भएपछि पेन्सनको व्यवस्था लागु हुनेछ ।

पेन्सन दिनका लागि हेटौंडा उपमहानगरपालिकाले कोषमा १० लाख रुपैयाँ यसअघिनै हस्तान्तरण गरेको छ । पत्रकार महासंघ मकवानपुर शाखाले वाणिज्य बैंकमा खाता खोलेर १० लाख रुपैयाँ जम्मा गरिसकेको छ । वाणिज्य बैकमै यसअघि मुद्दती खातामा रहेको दुई लाख रुपैयाँ समेत पेन्सन कोषमा जम्मा गर्ने र उपमहानगरपालिकाले कोषका लागि दिएको १० लाखको व्याज रकमबाट पेन्सन दिन लागिएको पत्रकार महासंघ मकवानपुरका अध्यक्ष हरि हुमागाईले जानकारी दिनुभएको छ । पेन्सन सम्बन्धी कार्यविधिलाई महासंघको यही मंसिर २६ गतेको साधारण सभाले पारित गरिने अध्यक्ष हुमागाईको भनाइ छ ।