Home मुख्य समाचार कैलाशमा यसै वर्ष एकीकृत बस्ती निर्माण सम्पन्न हुने

कैलाशमा यसै वर्ष एकीकृत बस्ती निर्माण सम्पन्न हुने

हेटौंडाः मकवानपुरको उत्तरी क्षेत्र कैलाश गाउँपालिका–१० मा एकीकृत बस्ती निर्माणको कार्य अगाडि बढेको छ । गाउँपालिकामा जोखिम अवस्थामा बसोबास गर्दै आएका १० घरधुरीको लागि एकीकृत बस्ती निर्माण हुन लागेको कैलाश गाउँपालिका वडा नम्बर १० का वडा अध्यक्ष माणिकलाल मोक्तानले जानकारी दिनुभयो ।

एकीकृत बस्ती निर्माणका लागि ३ महिनाअघि १० घरधुरी लाभग्राहीको नाममा जग्गा पास गरिएको उहाँले बताउनुभयो । एकीकृत बस्तीको लागि कैलाश गाउँपालिका–१०, बलमटारमा सात–सात धुर जमिन खरिद गरी लाभग्राहीको नाममा पास गरिएकोे छ ।

चालु आर्थिक वर्षमा भूकम्प पुननिर्माण प्राधिकरणले उनीहरुलाई घर बनाउन प्रतिघरधुरी ३ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । यसअघि उनीहरुलाई जग्गा किन्न २ लाख रुपैयाँ उपलब्ध गराएको र नपुग रकम लाभग्राही आफैंले थपेको वडाअध्यक्ष मोक्तानले जानकारी दिनुभयो ।

यस्तै भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला कार्यान्वयन इकाई भवन शाखाले एकीकृत बस्तीको प्राविधिक कार्य गर्ने भएको छ । भवन कार्यालय मकवानपुरबाट एकीकृत बस्तीको प्राविधिक सहयोग, खानेपानी, पर्खाललगायतका काममा ४० लाख रुपैयाँसम्मको काम हुने भवन कार्यालय मकवानपुरका इन्जिनियर रवीन पाठकले बताउनुभयो ।

आइतबार भवन कार्यालयका इन्जिनियरसहितको टोलीले एकीकृत बस्ती निर्माण हुने स्थानको स्थलगत अवलोकन गरेको वडा अध्यक्ष मोक्तानले बताउनुभयो । चालु आर्थिक वर्षसम्म एकीकृत बस्ती निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो ।

Exit mobile version