Home मुख्य समाचार मौज्दात कोषको रकम निकासा गर्ने निर्णय

मौज्दात कोषको रकम निकासा गर्ने निर्णय

हेटौंडाः जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिससको मौज्दात कोषको रकम जिल्लाका विभिन्न स्थानीय तहहरुमा निकासा गर्ने निर्णय गरेको छ । सोमबार बसेको जिससको ७१ औं बोर्ड बैठकले जिल्लाका सभाबाट पारित भए अनुसार जिल्लाका विभिन्न स्थानीय तहमा मौज्दात कोष कार्यविधिले तोके अनुसारको योजना सञ्चालनका लागि रकम निकासा गर्ने निर्णय गरेको हो ।

जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा बसेको बैठकले स्थानीय तहहरुबाट माग भए अनुसारको रकम उपलब्ध गराउने निर्णय भएको हो । मौज्दात कोषबाट कोष सञ्चालन निर्देशिका बमोजिम गाउँपालिकासँगको लागत साझेदारीमा कार्य हुने गरी रकम उपलब्ध गराइने प्रमुख खुलालले बताउनुभयो ।

बैठकले जिल्लाको ईन्द्रसरोवर गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि ५० लाख रुपैयाँ र हेटौंडा–९ को वडा कार्यालय भवन निर्माणका लागि ५० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । यस्तै हेटौंडा–१३ स्थित महेन्द्र माविलाई १० लाख, हेटौंडा–२ स्थित सिद्धार्थ माविलाई १५ लाख, हेटौंडा–८ स्थित मदन आश्रित स्मृति भवनका लागि १३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय उहाँले बताउनुभयो ।

बैठकमा विभिन्न समसामयिक विषयमा समेत छलफल भएको थियो । सोमबारको बैठकमा जिसस उपप्रमुख भगवती पुडासैनी, सदस्यहरु देवराज रिमाल, गणेशकुमारी प्रधान, सीता अधिकारी, सरिता विक, चित्र बहादुर बलामी, बुद्धबहादुर स्याङ्तान, सानोकान्छी स्थाङ्तानलगायत कार्यालयका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

Exit mobile version