वंशगोपाल मावि हेटौंडाका प्रधानाध्यापक (प्रअ) रमेशप्रसाद लामिछाने ।

एसईई—२०७६ शुरु हुनु भन्दा १२ घण्टा अगाडि परीक्षा स्थगित गरियो । कोभिड—१९ को आतङ्कले आवश्यकता भन्दा बढि नै महत्व पाएको चर्चा अहिले पनि कायमै छ । लक डाउनको समिक्षा यो आलेखको विषयवस्तु होईन । कोरोना भाईरसको कारणले कक्षा १२ को गएको वैशाख ८ गतेबाट तोकिएको परीक्षा अहिले मंसिर ९ गतेबाट संचालन भै रहेको छ । त्यस्तै कक्षा ११ को परीक्षा गत वैशाख २१ गतेबाट गर्ने भनिएकोमा निर्देशिका मार्फत अब देखि विद्यालयलाई नै सुम्पिएको छ । यी तिन वटा परीक्षामा सहभागि हुने करिब १३ लाख भन्दा बढि विद्यार्थीहरुको पिडा शब्दमा ब्यक्तगर्न कठिन बनेकै हो । कोभिड—१९ को महामारी र ज्यानै लिने यसको प्रकोप गम्भिर चुनौति बनिरहेको स्थितिमा कोरोनाकै कारणले श्रृजित अवसरहरुको क्रममा प्रविधिको प्रयोगलाई महत्वपूर्ण उपलब्धि मान्नै पर्छ । शिक्षामा प्रयत्न गरिएका अनलाईन शिक्षण, तालिम, परीक्षाहरुमा प्रविधिको प्रयोग र बिस्तार सकारात्मक मात्र नभै युगानुकूल र सान्दर्भिक पाईलो मान्नैपर्छ ।

कक्षा १२ को४० प्रतिशत परीक्षा संचालनको क्रममा केन्द्राध्यक्षहरुलाई भर्चुअल ओरिन्टेशन गरियो । बिगतमा भौतिक उपस्थितिमा गरिने वैठकले परम्परागत शैली तोडेर नयाँ विधिको थालनि गरि आधुनिकताको पथ पक्रियो । समय र लगानिको शिर्षकमा कति जोगियो भन्ने विश्लेषण त भएकै होला । यो कोरोना भाईरसबाट उत्पन्न अवसरको एक उदाहरण स्विकार्नै पर्छ । आवश्यकताले नयाँ खोज र अग्रगामी प्रयोग श्रृजना गर्ने स्थिति जन्माउँछ । उक्त भर्चुअल वैठकमा परीक्षा संचालन सम्वन्धमा निर्देशिकाकै मूल अंश ब्याख्या गरियो । प्रश्न पत्र प्राप्ति बाहेकका विषय वस्तु खासै नयाँ थिएनन् । संस्थाको नतिजा प्राप्त गर्ने पासवर्डबाट र प्र.अ.- प्रमुखको ई मेलमा परीक्षा शुरु हुनुभन्दा आधा घण्टा पहिले बोर्डबाट प्रश्न पठाउने भनियो । शंका प्रश्नपत्र प्राप्तीमा मात्र थियो । अन्यमा कोरोना भाईरस विरुद्धका सावधानीका उपायहरु सान्दर्भिक थिए ।

सायद परीक्षामा यो विधिबाट प्रश्नपत्र प्राप्ति पहिलो प्रयोग हुन सक्छ । यस अघि जिल्ला प्रहरिकोमा राखेर परीक्षाकै बेला नजिकका प्रहरीचौकीमा राखेर ठूलै तामझामका साथ परीक्षा केन्द्रमा दैनिक लाने परम्परा यस पटक तोडिएको छ । यद्यपि प्रश्नपत्र प्राप्तिमा केहि समस्या आएकै हो । विद्यूत सेवाको सुनिश्चतता, ईन्टरनेट सेवाको पहुँच र प्रभावकारीता पहिलो शर्त मानिएको छ । तोकिएको समय भन्दा दश पन्ध्र मिनेट ढिलो भए पनि यो विधिमा केहि सुधार गर्ने हो भने परीक्षा प्रणालीमा नयाँ युगको शुरुआत गर्न सहज बन्ने निश्चित छ । यो विधिको प्रयोगबाट प्रश्नपत्रको छपाई, गणना, प्याकिङ, ढुवानि, सुरक्षा प्रहरि, केन्द्र सम्म लैजाँदाको जोखिम, खोल्दाको नाटक जस्ता यी सबै काम छोटिन्छन् । विशेष स्थिति बाहेक परीक्षा केन्द्रमा प्रहरिको पनि जरुरी छैन । बिजुली नपुगेको र ईन्टरनेटको पहुँच नभएको माध्यमिक विद्यालय कमै छन् । ती स्थानमा सरकार र सम्वन्धित सेवा प्रदायक संस्थाहरुको विशेष ध्यान जानैपर्छ ।

मूल पक्ष भनेको परीक्षाको मर्यादा र गोपनियता नै हो । संस्थाका जिम्मेवार प्रमुखबाट नै प्रश्न बाहिरिन्छ भने तत्कालै निजलाई सेवा मुक्त गरी जेल पठाउने ब्यवस्था ऐनकानूनबाटै किटानी गरिनु पर्दछ । अनुशासनमा सम्झौता पटक्कै गरिनु हुन्न । जो कोहि बाट पनि नियम विधि मिचेर परीक्षाको मर्म र मुल्यमान्यतामा प्रहार हुन्छ भने तिनिहरु हदै सम्मको सजायँको भागिदार बन्नै पर्दछ । लागत घटाउँदै श्रम र साधनको न्यूनीकरण सहितको कम जनशक्तिको प्रयोगबाट थप प्रभावकारी बनाउने सोच सरकारको हुनै पर्दछ । यो अभियानमा पहिलो प्रयोग गरिएको ई मेल मार्फत प्रश्न पठाउने परीक्षा बोर्डको प्रशंशनीय काम देखिएको छ । अब , सन्दर्भ कक्षा १२ को हालको ४० प्रतिशत मूल्याङ्कनको क्रममा प्रश्नपत्र ब्यवस्थापनको सबाल एक महत्वपूर्ण फड्को साबित भएको छ । दरो उदाहरण बनेको छ । यो विधि मात्र १२ कक्षाको लागि हैन, अन्य कक्षाहरुको परीक्षामा पनि प्रयोग गर्न सकिन्छ । कक्षा १०, ११ र १२ को परीक्षा बोर्डबाटै यसैगरी गर्दा राम्रो हुन्छ । प्रदेशस्तरका परीक्षाबोर्डले कक्षा १० को परीक्षा र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डले यहि शैलीमा प्रश्न उपलब्ध गराएर झनै निखार ल्याउन सकिन्छ ।

राष्ट्रिय परीक्षा बोर्डको सबै परीक्षा केन्द्रमा प्रश्नपत्र पठाउने पछिल्लो विधि नयाँ प्रयोग मात्र हैन, सबै परीक्षामा सिक्नुपर्ने उपयुक्त उदाहरण हो । राम्रा कामहरुको खुलेर प्रशंशा गर्नै पर्दछ र यसमा कसैले पनि कन्जुस्याईं गर्न जरुरी छैन । त्यस्तै बेठीकहरुको पनि ढाकछोप र चाकडि हैन, स्पष्टताका साथ उजागर गरी सच्याउने अवसर दिनु हाम्रो धर्म पनि हो । स्थानीय तहका शिक्षा शाखाहरुले यो विधिबाट विद्यालयस्तरका सबैखाले परीक्षामा थप शुद्धता र सहजतापूर्वक परीक्षा संचालन गर्ने विश्वास बढेको छ । स्थानीय स्तरका विभिन्न तहका परीक्षाहरु संचालनार्थ गठित परीक्षा समितिहरुले यो अभ्यासबाट परीक्षालाई थप मर्यादित र ब्यवस्थित गर्न सक्दछन् । विद्यालयका अन्य कक्षाहरुको अतिरिक्त कक्षा ८को स्थानियतहले लिने परीक्षाको सबालमा अनलाईन प्रश्नपत्रहरु पठाउने अभ्यासको तयारीमा अहिलेबाटै जुट्ने हो भने सो यसै वर्ष असम्भव छैन । त्यस्तै उच्च शिक्षाका विभिन्न तहका सेमेष्टरका परीक्षाहरुमा समेत प्रश्नपत्रको सबालमा यो अभ्यास बढि उपयुक्त हुन सक्दछ । सबै शिक्षण संस्थाहरुमा बिजुली र ईन्टरनेटको सुबिधा तथा पहुँचको ब्यवस्थापनमा स्थानीय र प्रदेश सरकारहरुले जिम्मेवारी लिनै पर्दछ । कम्तिमा परीक्षाको एउटा शिर्षकमा मात्र भएपनि प्रविधिको प्रयोगले एक पाईला अगाडि बढ्दै विकसित राष्ट्रसंग दाँजिने अवस्था आउँछ । हरेक सिक्काको दुईपाटा भने झैं यो विधि पनि त्रुटिरहित बन्नै सक्दैन । कमजोरीहरुको सान्दर्भिक समाधानमा सम्बद्ध ब्यक्ति तथा संस्थाहरु गम्भिरतापूर्वक जुट्नै पर्दछ । यसका समस्या र नकारात्मक स्थितिलाई दृढ अठोट लिई ईमान्दारीका साथ हल गर्न सन्छि । यो अभ्यासको विकसित रुप नै अनलाईन परीक्षा प्रणाली हो जुन हाम्रो लागि पनि क्रमश सहज र परिष्कृत हुने दिन टाढाहुने छैन ।