सांकेतिक चित्रः गुगल ।

हेटौंडाः चार दिनदेखि हराइरहेकी एक महिलाको शव मकवानपुर जिल्लाको उत्तरीक्षेत्रस्थित ईन्द्रसरोवर गाउँपालिकाको ईन्द्रसरोवर तालबाट निकालिएको छ ।

सोमबारदेखि हराइरहेको भनिएकी मकवानपुरको थाहा नगरपालिका–५ की २८ वर्षीया राधिका लामाको शब आज दिउँसो २ बजेको समयमा सशस्त्र प्रहरीको गोताखोर टोलीले निकालेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभएको छ ।

प्रहरी प्रवक्ता रानाका अनुसार सोमबार घरबाट निस्किएकी राधिका परिवारको सम्पर्कमा नआएपछि थाहा नगरपालिकास्थित ईलाका प्रहरी कार्यालय पालुङमा परिवारले राधिकाको खोजी गरिदिन निवेदन दर्ता गराएका थिए । प्रहरीले खोजी गर्ने क्रममा स्थानीयले तालमा एकजना महिला हामफालेको भन्ने सूचनापछि काठमाडौंबाट सशस्त्र प्रहरी बलको गोताखोर टोली झिकाएर खोजी गरिएको थियो ।

आज दिउँसो गोताखोर टोलीले खोजी सुरु गरेको आधा घण्टाको समयमै शव बरामद भएको प्रहरी प्रवक्ता रानाको भनाइ छ । राधिकाको मानसिक सन्तुलन गुमेको भनी परिवारले खोजी गरिदिन आग्रह गरेको प्रहरीको भनाइ छ ।