हेटौंडाः सडक बालबालिकाको उद्दार, संरक्षण र परिवारमा पुनर्मिलनको कार्यमा सक्रिय मामाघर नेपाल मकवानपुरको हेटौंडा–११, डाङडुङेस्थित नवनिर्मित भवन परिसरमा बगैंचा (उद्यान) निर्माण गर्न एक लाख रुपैयाँ सहयोग प्राप्त भएको छ ।
काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–८, मण्डिखाटार निवासी सुमन अधिकारीले आफ्नी आमा लक्ष्मी अधिकारीको स्मृतिमा एक लाख रुपैयाँ सहयोग गर्नु भएको हो । स्थानीय दान, चन्दा, उपहार र सहयोगबाट सञ्चालित मामाघर नेपालको मूल प्रवेशद्वार, बाँकी पर्खाल र पालेघर स्थानीय सुदर्शन अधिकारीले निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको मामाघर नेपाल मकवानपुरले जनाएको छ । मामाघर नेपालमा हरेक दिन सहयोग प्राप्त भइरहेको छ ।