साङ्केतिक तस्बिर google.com

हेटौंडाः निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचन आगामी मंसिर २७ गते हुने भएको छ । यसअघि गत असोज २४ गतेका लागि उक्त निर्वाचन तोकिएको थियो । कोभिड–१९ को संक्रमण जोखिम बढिरहेको हुनाले यसअघि घोषित निर्वाचन स्थगित गरेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नजिकिँदो निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियन निर्वाचनको लागि प्रमुख निर्वाचन अधिकृतको कार्यालयले विभिन्न समयतालिकासमेत तय गरेको छ । प्रमुख निर्वाचन अधिकृतको कार्यालयले मंसिर १० गते मतदाता नामावली प्रकाशन गर्ने, मंसिर ११ गतेदेखि १२ गतेसम्म मतदाता नामावलीउपर दावी विरोध, मंसिर १३ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने समयतालिका सार्वजनिक गरेको छ । यस्तै मंसिर १४ गते विहान १० बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने, मंसिर १५ गते विहान १० बजेदेखि १२ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिने र अपराह्न १ बजेदेखि ५ बजेसम्म उम्मेदवारको नाममा दावी विरोध गर्ने समयतालिका सार्वजनिक गरिएको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यक्रमअन्तर्गत् मंसिर १६ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र मंसिर २७ गते बिहान ९ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुने प्रमुख निर्वाचन अधिकृतको कार्यालयले बताएको छ ।