हेटौंडाः सांग्रीला डेभ्लपमेन्ट एसोसिएसनलाई आगामी आर्थिक वर्षका लागि मकवानपुरको कैलाश गाउँपालिकामा कार्यक्रम सञ्चालन गर्न अनुमति प्रदान गरिएको छ । जिल्ला सल्लाहकार समिति मकवानपुरका अध्यक्ष समेत रहनुभएका जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको अध्यक्षतामा सोमबार बसेको बैठकले सांग्रीलालाई आर्थिक वर्ष २०७७/०७८ मा कार्यक्रम सञ्चालनको अनुमति प्रदान गरेको हो ।

सांग्रीला डेभ्लपमेन्ट एसोसिएसनले कैलाश गाउँपालिकाको वडा नम्बर ३, ४ र ७ मा कार्यक्रम सञ्चालन गर्दै आएको छ । शिक्षा, स्वास्थ्य, कृषि र खानेपानीको क्षेत्रमा कार्य गर्दै आएको सांग्रीलालाई आगामी आर्थिक वर्षका लागि पनि अनुमति प्रदान गरिएको हो । बैठकमा संस्थाका तर्फबाट आर्थिक वर्ष २०७६/०७७ मा सञ्चालित कार्यक्रम तथा आगामी आर्थिक वर्षमा सञ्चालन गरिने कार्यक्रमका बारेमा जानकारी गराइएको थियो । संस्थाले उक्त क्षेत्रमा शैक्षिक गुणस्तर सुधार, छात्राबास, स्वास्थ्य सम्बन्धी विभिन्न कार्यक्रम, आग्रानिक कृषि, सचेतनामुलक कार्यक्रमलगायत खानेपानीको क्षेत्रमा समेत कार्य गर्दै आएको छ ।

बैठकमा संस्थाले आगामी आर्थिक वर्षमा उक्त क्षेत्रमा शिक्षातर्फ दिवाखाजा कार्यक्रम, विद्यालय पोशाक, शैक्षिक सामग्री, खेलकुद सामग्री, पुस्तकालय, ईसीडी कक्षालाई सहयोग, बालबालिकाको स्वास्थ्य बीमालगायत कार्यक्रम गर्ने जनाएको छ । यस्तै स्वास्थ्य क्षेत्रतर्फ विभिन्न आमा समूहसँग अन्तरक्रिया तथा तालिम, स्वास्थ्य सेवा खर्च सहयोग, सुत्केरी भेटघाट कार्यक्रम, स्वास्थ्य शिविर, सेनेटरी प्याड बनाउने तालिम, विद्यालय स्वास्थ्य कार्यक्रम, सुधारिएको चुलोलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ । यस्तै संस्थाले कृषि क्षेत्रमा बेमौसमी तरकारी खेती तालिम, आग्रानिक खेती तालिम, कृषक भेला, विशेषज्ञद्वारा अनुगमन, पशुपालन व्यवस्थापन तालिम, कृषि व्यवस्थापन तालिम, नर्सरीलगायत एक पटकका लागि लिफ्टीङ खानेपानी आयोजना, तथा मेडिकलजन्य फोहर व्यवस्थापनलगायतका कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

बैठकमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख खुलालले स्थानीय तहसँगको समन्वय र सहकार्यमा कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । उहाँले आर्थिक पारदर्शितासहित स्थानीय तहसँगको सहकार्य तथा समन्वयमा नदोहोरिने गरी कार्यक्रम सञ्चालन गर्न सुझाव दिनुभयो । बैठकमा जिल्ला समन्वय समिति मकवानपुरकी उपप्रमुख भगवती पुडासैनी, समन्वय अधिकारी आनन्दराज पोखरेल, जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख प्रणय उपाध्याय, कैलाश गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद शर्मा, संस्थाका अध्यक्ष जयशंकर उपाध्यायलगायतको सहभागिता थियो ।