बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले हेटौंडा–७ मा बन्दै गरेको सडकको निरीक्षण गर्नुहुँदै ।

हेटौंडाः हेटौंडा–७ मा बन्दै गरेको सडकको बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले निरीक्षण गर्नुभएको छ । हेटौंडा–७ को हरियाली टोलदेखि अग्रावी टोल विकासको सिमानासम्म पिच हुँदै गरेको छ सय ४० मिटर सडकको मुख्यमन्त्री डोरमणि पौडेलसहित हेटौंडा–७ का वडाअध्यक्ष राजन थापा, हेटौंडा–२ का वडाअध्यक्ष हरि बहादुर राउतलगायत जनप्रतिनिधिहरुको टोलीले निरीक्षण गर्नुभएको हो ।

बागमती प्रदेश सरकारको १ करोड रुपैयाँको लागतमा बन्दै गरेको सडक बिहीबारसम्ममा छ सय ४० मिटर नै पिच सम्पन्न हुने हेटौंडा ७ का वडाअध्यक्ष राजन थापाले बताउनुभयो । गत वर्षको असार मसान्तसम्म सक्नुपर्ने सडकको ठेक्का लकडाउनले गर्दा अहिले निर्माण भइरहेको वडाअध्यक्ष थापाको भनाइ छ । प्रदेश सरकारको बजेटमा बनेको सडकको बुधबार मुख्यमन्त्री पौडेलले निरीक्षण गर्दै सडकको गुणस्तर कायम गर्न र फिनिसिङ राम्रो बनाउन निर्देशन दिनुभएको छ ।