विश्वव्यापी महामारी कोरोनाका कारण नेपालको शैक्षिक तालिका नराम्रोसँगं प्रभावित बनेको छ । अघिल्लो शैक्षिक सत्रको वार्षिक परीक्षा गरी नतिजा प्रकाशन नगरेसम्म नयाँ शैक्षिक सत्र सुरु गर्ने अन्यौल हुने भएपछि गत वर्षको एसईईको नतिजा विद्यालयहरुकै मूल्याङ्कनका आधारमा प्रकाशन गरियो भने कक्षा १२ को परीक्षा मंसिरका लागि निर्धारण गरिएको छ । यता कक्षा ११ को परीक्षा सम्बन्धित विद्यालयहरुले नै सञ्चालन गर्ने शिक्षा मन्त्रालयको निर्देशिका छ । उता केही विश्वविद्यालयहरुले परीक्षा सञ्चालन गरिसके भने सरकारको मातहतको त्रिभुवन विश्वविद्यालयले भने स्थगित गरेका परीक्षाहरु कहिले र कसरी सञ्चालन गर्ने भन्ने कुरा अझै स्पष्ट गर्न सकेको छैन । वार्षिक नतिजाले मात्र विद्यार्थीलाई उपल्लो कक्षाको पठनपाठनमा जोड्ने भएकाले निर्णयमा ढिलाई हुनु हुँदैन ।

कक्षा १२ को वार्षिक परीक्षा होम सेन्टरबाट लिने व्यवस्था गरिएको छ भने कक्षा ११ को सम्बन्धित विद्यालयहरुले मूल्याङ्कन गरी दिएको नतिजालाई परीक्षा बोर्डले मान्यता दिने भनिएको छ । त्यसैले मकवानपुरका अधिकांश विद्यालयहरुले कक्षा ११ को परीक्षा लिन सुरु गरेका छन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा रुपमा पालना गर्ने र गराउने गरी परीक्षा हुन आवश्यक छ । नत्र परीक्षाका नाममा कोरोनाको जोखिम थपिने खतरा छ । गत बैशाखमा हुनुपर्ने परीक्षा कोरोना जोखिमका कारण स्थगित भएको थियो । कोरोना भाइरस सङ्क्रमण कायमै रहँदा राष्ट्रिय परीक्षा बोर्डले सम्बन्धित विद्यालयले नै परीक्षा लिने व्यवस्था गरेपछि मकवानपुरका विद्यालयहरुले परीक्षा लिन सुरु गरेका हुन् । जिल्ला सदरमुकाम हेटौंडाका अधिकांश सामुदायिक विद्यालय र केही गाउँपालिकाका विद्यालयहरुमा कक्षा ११ को परीक्षा लिन सुरु गरेका छन् ।

कोरोनाको जोखिम भए पनि परीक्षामा विद्यार्थीहरुको सहभागिता सामान्य रुपमा नै देखिएको छ । यस अवधिमा कुनै परीक्षार्थीलाई कोरोना पुष्टि भएको प्रमाणित भएमा उसका लागि फेरी अर्को व्यवस्था गर्नुपर्ने हुन्छ । परीक्षाका लागि विद्यालयले नै प्रश्न तयार गरेका हुन् भने कापी परीक्षण पनि सम्बन्धित विद्यालयका विषय शिक्षकहरुले गर्ने छन् । यस पद्दतीले विद्यार्थीहरुको क्षमताको सही मुल्याङ्कन हुने कुरामा भने आशंका बढेको छ । उत्तीर्ण प्रतिशतमा विद्यालयहरु विगतदेखि नै प्रतिस्पर्धा हुँदै आएका छन् । आफैंले तयार पारेको प्रश्न र आफैंले गर्ने परीक्षणले विद्यार्थीको क्षमता भन्दा पनि विद्यालयको प्रतिष्ठा जोडिने खतरा बढ्ने देखिन्छ । तर परिस्थितिको गलत फाईदा उठाउने काम शिक्षकहरुबाट हुँदैन भन्ने मान्यताको पालना हुनेमा विश्वास गर्नु पर्दछ ।

मकवानपुरमा कक्षा ११ मा नियमिततर्फ पाँच हजार १३ विद्यार्थी र ग्रेडवृद्धितर्फ दुई हजार आठ सय ८७ विद्यार्थीले परीक्षा फारम भरेको राष्ट्रिय परीक्षा बोर्डको हेटौंडास्थित कार्यालयले जनाएको छ । महामारीका बीच भएको परीक्षामा सबै परीक्षार्थीहरु सहभागी हुन सक्ने अवस्था देखिँदैन । जिल्ला बाहिरका कतिपय विद्यार्थीहरु लकडाउन सुरु भएपछि आफ्नो गाउँघर पुगेको अवस्था छ भने कतिपय सङ्क्रमित होलान् भने कतिपयलाई परीक्षा केन्द्र वा आफ्नै विद्यालयमा पुग्न समेत डर भइरहेको हुन सक्छ । जे भए पनि मकवानपुरका सामुदायिक विद्यालयहरुले सुरु गरेको परीक्षा संस्थागत विद्यालयहरुका लागि पनि सिकाई हुन सक्छ । परीक्षा सञ्चालनको अवस्था देख्दा अब पठनपाठन पनि हुन सक्ने देखिन्छ ।