सांकेतिक चित्रः गुगल ।

हेटौंडाः मकवानपुरको बकैया गाउँपालिकामा एक युवकको हत्या भएको छ । बकैया गाउँपालिका–४, नयाँ दमारमा स्थानीय २० वर्षीय विकास वाईबाको हत्या भएको बकैया गाउँपालिकास्थित प्रहरी चौकी हात्तिसुडेले जानकारी दिएको छ । शुक्रबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा भीमराज भोलनले वाईबाको हत्या गरेको घटनाका प्रत्यक्षदर्शी विकास वाईबाका भाई कृष्ण वाईबाले जानकारी दिएको प्रहरीले बताएको छ ।

खेलकुद मैदान नजिकै बसिरहेका विकास वाईबा, भीमराज भोलन र सन्दीप माझीबीच झगडा हुँदा भीमराजले खुकुरी प्रहार गर्ने क्रममा सन्दीप भाग्न सफल भएको र भीमराजले विकासको हत्या गरेको प्रहरीले प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी चौकी हात्तिसुडेका प्रहरी सहायक निरीक्षक कृष्णराम गौतमले जानकारी दिनुभएको छ । घटना हुनुअघि विकास वाईबाका भाई कृष्ण वाईबासहितको एक समूह फुटबल खेलिरहेका थिए ।

नयाँदमारस्थित खेलमैदान नजिकै बसिरहेका तीनजनाबीच झगडा भएर विकासको टाउको नै छिनाल्ने गरी भीमराजले खुकुरी प्रहार गरेको बताइएको छ । प्रहरीले भीमराज र हत्यामा प्रयोग भएको हतियार बरामद गरेको छैन । जिल्ला प्रहरी कार्यालयबाट मुचुल्का टोली घटनास्थल पुगेको छ ।