हेटौंडाः हेटौैडामा नागरिकहरुको चहलपहल आजबाट ह्वातै बढेको छ । शनिबारबाट बडा दसैं सुरु भएसँगै हेटौंडा बजारमा आज चहलपहल निकै बढेको हो । बजारमा विशेष गरेर बैंक तथा वित्तिय क्षेत्रमा मानिसहरुको भिड रहेको छ भने सवारी साधनको ताती लागेको छ ।
बजारमा दशैको लागि किनमेल गर्नको लागि तथा तलब निकाल्न बैंकमा मानिसहरुको भिड बढेको छ । बकैया गाउँपालिकाबाट दसैं किनमेल गर्नका लागि बैंकमा पैसा निकाल्न लाइनमा बसेको बताउनुहुन्छ रमेश प्याकुरेल । यस्तो कोरोना महामारीको बिचमा १ मिटर भौतिक दूरी कायम नगरी हेटौंडाको केही बैंक तथा वित्तिय संस्थामा नागरिकहरु लाइनमा बसेका छन् । हेटौंडामा निजी क्षेत्रको बैंक तथा सरकारी बैंक दुवैमा भिडभाड देखिएको छ ।
यस्तै बजारमा साना सवारीहरु मयुरी, अटो, मोटरसाइकल, साना गाडिको ताती लागेको छ । हेटौंडा बजारमा सवारीहरुको चाप बढेसँगै पार्किङ व्यवस्थापनमा पनि चुनौती देखिएको छ । नो पार्किङ तथा एकतर्फि बाटोमा पनि दुवैतर्फ सवारीहरु पार्किङ गरेर राखेका छन् । यस्तै पैदलयात्रु हिड्नलाई बनाईएको बाटोमा पनि मयुरी तथा मोटरसाइकल जथाभावी पार्किङ गरेर राख्दा हिड्न असहज भएको पैदलयात्री नविन थिङले बताउनुभयो ।
यता ट्राफिक प्रहरी कार्यालय मकवानपुरलाई पनि बजारको व्यवस्थापन गर्न समस्या भएको जनाइएको छ । हेटौंडाको चोकचोकमा सवारीको भिड भएको र जाम पनि हुन सुरु गरेको छ । यस्तै जथाभावी पार्किङ नर्गन जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले अपिल गरेको छ ।
मानिसहरुले जथाभावी बाटो क्रस गर्न थालेका छन् । जेब्रक्रसिङ नजिकै भएपनि मानिसहरु दाँया–बाँया नहेरी जथाभावी बाटो काट्दा दुर्घटनाको जोखिम बढेको छ ।
यस्तै हेटौंडा बजारमा दैनिक रुपमा १ सय भन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिन सुरु भएको छ । हेटौंडा उपमहानगरपालिकाले भने हेटौंडामा कोरोना सङ्क्रमितहरुको संख्या निकै बढेपछि हेटौंडाबासीलाई घरमै बस्न सुचना जारी गरेको छ । हेटौंडामा १ हजार ५ सय बढीमा कोरोनाको सङ्क्रमण देखिएको छ । यस्तै दैनिक रुपमा हेटौंडामा कोरोनाको सङ्क्रमति बढ्दै गएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले बताउनुभयो । अहिले स्वास्थ्य सुरक्षा अपनाउन जरुरी रहेको पनि उहाँले बताउनुभयो ।